बिहीबार, असार ५, २०८२

इजरायल-हमास युद्धको एक महिनामा के-के भयो ?

 |  मंगलबार, कात्तिक २१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २१, २०८०

vianetvianet

प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमाथि अचानक आक्रमण गरेको एक महिना पुगेको छ। सात अक्टोबर २०२३ मा हमासको आक्रमणमा परी इजरायलमा १४ सयको मृत्यु भएको थियो जसमा १० जना नेपाली पनि छन्।

लगत्तै इजरायलले हमास नियन्त्रित गाजामा जवाफी कारबाही सुरु गर्‍यो। युद्ध घोषणा गर्दै उसले अहिले पनि आक्रमण जारी राखेको छ। एक महिनाको अवधिमा ११ हजारभन्दा बढीको मृत्यु भइसकेको छ, जसमा ४ हजारभन्दा बढी बालबालिका रहेका छन्।  

बीबीसीले गाजास्थित हमास शासित स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै दिएको जानकारी अनुसार युद्ध सुरु भएदेखि हालसम्मको अवस्थामा गाजामा मात्रै ९ हजार ७ सय ७० जनाको मृत्यु भएको छ, जसमा चार हजार ८ सयभन्दा बढी बालबालिकाका रहेका छन्।

प्यालेस्टिनी विदेश मन्त्रालयका अनुसार गाजा पट्टीमा १६ लाख ५० हजार बालबालिका छन्। तीमध्ये युद्धका कारण अझै पनि कम्तिमा १ हजार ५० बालबालिकासहित करिब १९ सय ५० नागरिक भग्नावशेषमुनि रहेका छन्।  

यसैबीच, २ हजार मानिसहरू मध्ये करिब १२ सय ५० बालबालिका बेपत्ता भएको रिपोर्ट प्राप्त भएको प्यालेस्टिनी क्षेत्रमा मानवीय मामिलाको समन्वयको लागि संयुक्त राष्ट्र कार्यालयले जनाएको छ।

त्यसैगरी युद्धका कारण इजरायलतर्फ पनि १ हजार ४ सयभन्दा बढी मानिस मारिएका छन्। गत ७ अक्टुबरमा हमासले गरेको आक्रमणका कारण दुबै तर्फका गरी १० हजारभन्दा बढी घाइते भएका छन्।  

यसैबीच, संयुक्त राष्ट्रले युद्धका कारण गाजामा करिब १५ लाख मानिस विस्थापित भएको र ७ लाखभन्दा बढी मानिस शिविरमा बस्न बाध्य भएको बताएको छ।

इजरायली हवाई हमला तीव्र हुँदा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्र बालबालिकाका लागि चिहान भएको संज्ञा दिएका छन्। उनले समय बित्दै जाँदा मानवीय सहायताका लागि युद्धविश्राम अत्यन्त जरुरी भइसकेको जिकिर गरेका छन्।

संयुक्त राष्ट्रसंघको निकायहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा गाजा र इजरायलमा नागरिकहरुको ज्यान जानु भयानक भएको उल्लेख गरेको छ। इजरायलको हवाई हमलाले गाजा क्षेत्रमा हमास सशस्त्र समूहको पूर्वाधारलाई निशाना बनाएको र न्यून मानवीय क्षति लक्ष्य भएको सेनाले दाबी गरेको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजा क्षेत्रको सम्पूर्ण सुरक्षाको जिम्मेवारी लिने बताएका छन्। उनले अमेरिकी टेलिभिजन प्रसारण संस्था एबीसीलाई इजरायलले अनिश्चितकालीन समयका लागि यो जिम्मेवारी लिने बताएका छन्।

संसारभरका मानिसहरूले इजरायली हवाई आक्रमणबाट मारिएका हजारौँ प्यालेस्टिनीहरूप्रति सहानुभूति देखाइरहेका छन्। 

प्रकाशित: Nov 07, 2023| 08:00 मंगलबार, कात्तिक २१, २०८०
प्रतिक्रिया दिनुहोस्