काठमाडौं- त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी तीन महिनाका लागि शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले पाएका छन् । त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले कार्तिक १७ गते उनलाई उपकुलपतिको जिम्मेवारी दिएका हुन् ।
यसअघिका उपकुलपति डा. धर्मकान्त बास्कोटाको पदावधि कार्तिक १६ देखि सकिएपछि उपकुलपति पद रिक्त थियो।
त्रिवि ऐन, २०४९ को दफा २१ (ख) अनुसार डा. भुसाललाई उपकुलपतिको जिम्मेवारी दिइएको त्रिविले जनाएको छ। सो दफाअनुसार उपकुलपति पद रिक्त भएमा सो पदपूर्ति नभएसम्म दैनिक कार्य सञ्चालन गर्न बढीमा तीन महिनाका लागि सहकुलपतिको परामर्शमा कुलपतिले उपकुलपतिको जिम्मेवारी तोक्न सक्ने व्यवस्था छ। यसरी तोकिने व्यक्ति वरिष्ठताका आधारमा हुने ऐनमा उल्लेख छ ।