बुधबार, वैशाख १६, २०८३

प्रदूषणका कारण दिल्लीमा स्कुल बन्दको समय बढाइयो

 |  आइतबार, कात्तिक १९, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १९, २०८०

नयाँ दिल्ली- वायु प्रदूषणका कारण भारतको राजधानी नयाँदिल्लीमा अधिकारीहरूले आइतबार आपत्कालीन स्कुलहरू एक साताका लागि बन्द गर्ने अवधि बढाएका छन्। महानगरको प्रदूषणको स्तरमा सुधारको कुनै सङ्केत नदेखिएपछि अधिकारीहरूले त्यस्तो निर्णय गरेका हुन्। 

National life

छिमेकी कृषि प्रधान राज्यहरूमा किसानहरूले पराल जलाउने गरेकाले हरेक शरद याममा दिल्लीलाई भीषण धुवाँले ढाक्ने गर्छ। नयाँदिल्लीलाई संसारको सबैभन्दा धेरै प्रदूषित सहरमध्ये एक मानिन्छ। यहाँको वार्षिक धुवाँ प्रत्येक वर्ष सयौँ÷हजारौँ मानिसको अकाल मृत्युको कारण बन्ने गर्छ।

'प्रदूषणको स्तर लगातार उच्च रहेकाले दिल्लीमा प्राथमिक विद्यालय नोभेम्बर १० सम्म बन्द रहने छन्', दिल्ली राज्यका शिक्षामन्त्री आतिशीले सामाजिक सञ्जाल एक्समा भने, 'उच्च प्रदूषण स्तरका कारण माध्यमिक विद्यालयहरूलाई ‘अनलाइन कक्षा’ सञ्चालन गर्ने विकल्प दिइएको छ।'

अनुगमन गर्ने संस्था आइक्युएयरका अनुसार तीन करोड जनसङ्ख्या भएको भारतीय राजधानी आइतबार फेरि एक पटक विश्वको सबैभन्दा धेरै प्रदूषित सहरको स्थानमा छ। दिल्लीले प्रत्येक वर्ष निर्माण गतिविधिहरूमाथि प्रतिबन्ध लगाउँछ र प्रदूषण गम्भीर स्तरमा पुग्दा केही सवारी साधनलाई सडकबाट हटाउने आदेश दिन्छ। तर आलोचकहरूले सरकारले सार्वजनिक स्वास्थ्य सङ्कटको प्राथमिक स्रोत कृषिलाई जानाजानी नजरअन्दाज गरेको बताउँछन्। 

छिमेकी राज्यहरूमा किसान निर्वाचनमा शक्तिशाली मतदाता हुन् र निर्वाचित नेताहरूले उनीहरूको सो कार्यका लागि कडा जरिवाना वा अन्य दण्डात्मक कदम लगाउनु पर्छ भन्ने मागलाई लामो समयदेखि विरोध गर्दै आएका छन्। 

kumari

नयाँदिल्लीमा सोमबार श्रीलङ्का र बङ्गलादेशबीच विश्व कप क्रिकेट खेल हुँदैछ। तर दुवै टिमले हालैका दिनमा धुवाँबाट हुने स्वास्थ्य जोखिमका कारण आफ्नो निर्धारित खेलपूर्वको प्रशिक्षण रद्द गरेका छन्। 

आगामी केही सातासम्म गम्भीर धुवाँको स्तर कायमै रहने आशङ्का गरिएको छ। आइक्युएयरका अनुसार आइतबार सबैभन्दा खतरनाक पिएम२.५ कणहरूको स्तर पाँच सय ७० माइक्रो प्रतिघनमिटरसम्म पुगेको छ। विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेकोभन्दा यो करिब ४० गुणा धेरै हो। पिएम२.५ कण रक्त प्रवाहमा प्रवेश गर्नसक्ने अति सानो कण हो। 

सन् २०२० मा एक अध्ययनले अघिल्ला वर्षका क्रममा वायु प्रदूषणका कारण १६ लाख ७० हजारको मृत्यु भएको र यसमा नयाँदिल्लीमा करिब १७ हजार पाँच सयको मृत्यु भएको थियो। 

शिकागो विश्वविद्यालयको ऊर्जा नीति संस्थानको अगस्टको एक प्रतिवेदनअनुसार वायु प्रदूषणका कारण औसत सहरवासी अपेक्षा गरिएभन्दा १२ वर्षअघि नै मर्न सक्छन्। 

भारत ऊर्जा उत्पादनका लागि प्रदूषणकारी कोइलामाथि अत्यधिक निर्भर छ। यसलाई चरणबद्ध तरिकाले अन्त्य गर्नुपर्ने मागको भारतले विरोध गरिरहेको छ। पछिल्लो सात वर्षमा भारतको प्रतिव्यक्ति कोइला उत्सर्जन २९ प्रतिशतले बढेको छ। 

प्रकाशित: Nov 05, 2023| 21:40 आइतबार, कात्तिक १९, २०८०
प्रतिक्रिया दिनुहोस्