काठमाडौं- भूकम्पपछिको खोज र उद्धारमा सेना पंक्तिमा रहेर काम गरिरहेको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार जाजरकोटको १३ स्थान र पश्चिम रुकुमको ७ गरी २० स्थानमा तैनाथ रही सैनिक टोली खोज तथा उद्धारमा परिचालित भएको हो।
जसअनुसार सेनाको हवाई साधनद्वारा जाजरकोट तथा रुकुम पश्चिमबाट हालसम्म ३१ जना घाइते तथा कुरुवासमेत गरी २४ जनालाई नेपालगन्ज तथा सुर्खेत पुर्याइएको छ। यसैगरी, आइतबार बिहान जाजरकोटबाट थप १ जना घाइतेको हवाई उद्धार गरिएको छ। स्वास्थ्यकर्मी एवं विशेषज्ञहरु समेतको विभिन्न युनिटहरुको टोली १० स्थानमा स्ट्याण्डवाइ रहेको पनि सेनाले जनाएको छ।
सेनाका अनुसार जाजरकोट अस्पताल, चौरजहारी तथा आठबिसकोट ईलाकामा खटिएको मेडिकल टोलीहरुबाट १२५ जना घाइतेहरूको उपचार भएको छ।
परिचालित फौजले अन्य सुरक्षा निकाय, जनप्रतिनिधि, सरकारी र गैर सरकारी संघ संस्थाका पदाधिकारी लगायत आम सर्वसाधारणसँग सहकार्य गर्दै प्रभावित इलाकाहरूमा भग्नावशेष हटाउने, स्थानीयका भग्नावशेषमा पुरिएका सामानहरू निकाल्ने तथा भूकम्प प्रभावितको अस्थायी वासस्थान व्यवस्थापन लगायतका कार्यहरू गरिरहेको सेनाले जनाएको छ।
सेनाको परिचालित हवाई साधनहरुले जटिल प्रकृतिका घाइतेहरूलाई थप उपचारको लागि उद्धार गर्नुको साथै राहत सामग्री ढुवानीसमेत गरिरहेको छ।
हालसम्म नेपाली सेनाको हवाई साधनद्वारा करिब दश हजार केजी औषधीजन्य र अन्य अतिआवश्यक राहत सामग्रीहरू भूकम्प प्रभावित इलाकामा ढुवानी गरिएको छ।