बिहीबार, असार ५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • एक महिनादेखि हमासको नियन्त्रणमा रहेका विपिनको सकुशल उद्धारको माग गर्दै र्‍याली 

एक महिनादेखि हमासको नियन्त्रणमा रहेका विपिनको सकुशल उद्धारको माग गर्दै र्‍याली 

 |  आइतबार, कात्तिक १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १९, २०८०

vianetvianet

काठमाडौं- प्यालेस्टिनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका कञ्‍चनपुरका विपिन जोशीको सकुशल उद्धारको माग गर्दै महेन्द्रनगरमा र्‍याली निकालिएको छ। आइतबार बिहान विपिनका परिवारसँगै विद्यार्थी र अधिकारकर्मीले सरकारलाई उनको उद्धारका लागि दबाब दिन र्‍याली निकालेका हुन्। 

अक्टोबर ७ मा हमास समूहले इजरायलमा आक्रमण गर्ने क्रममा सोही क्षेत्रमा रहेका नेपाली विद्यार्थी विपिन जोशीसमेतलाई हमास समूहले नियन्त्रणमा लिएको थियो। उनी नियन्त्रणमा लिएको एक महिनासम्म पनि उद्धार हुन नसक्दा अधिकारकर्मीहरुले सरकारलाई दबाब दिन र्‍याली आयोजना गरेका हुन्। उनीहरुले नेपाल सरकार, संयुक्त राष्ट्र संघ र मानव अधिकारवादी संघ संस्थाहरुले तत्काल जोशीको रिहाइका लागि पहल गर्न माग गरेका छन्। 

‘प्रयास जारी छ मात्रै भन्छन्, तर छोरा कस्तो अवस्थामा छ, केही थाहा छैन,’ जोशीका बुवा महानन्दले भने, ‘आज पनि सीडीओसाबले त्यहि कुरा भने।’ उनले तिहार अगावै छोराको उद्धार गरेर घर ल्याइदिन आग्रह गरेका छन्। र्‍यालीमा जोशीका बुवासँगै आमा पदमा र बहिनी पुष्पा पनि सहभागी थिइन्।

महेन्द्रनगरको मदन चोकबाट सुरु गरिएको र्‍याली बजार परिक्रमा गरि जिल्ला प्रशासन कार्यालयमा पुगेर समापन गरिएको हो। प्रशासनमा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र पनि बुझाइएको छ। ज्ञापन पत्र बुझ्दै प्रजिअ गोपाल कुमार अधिकारीले विपिनको उद्धारका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताए।

इजरायली सरकारले हालै जोशी हमास समूहको नियन्त्रणमा रहेको सार्वजनिक गरेको थियो। त्यसअघिसम्म उनको अवस्था अज्ञात थियो। जोशीको अवस्था सार्वजनिक भएपछि उनको परिवारमा केही आशा पलाएको छ।
 

प्रकाशित: Nov 05, 2023| 17:35 आइतबार, कात्तिक १९, २०८०
प्रतिक्रिया दिनुहोस्