काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालमा शुक्रबार गएको भूकम्पप्रति समकक्षी रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाएका छन्। राष्ट्रपति सीले समवेदना सन्देशमा कर्णाली प्रदेशमा गएको शक्तिशाली भूकम्पका कारण ठूलो जनधनको क्षति भएको खबरले आफू स्तब्ध भएको उल्लेख गरेका छन्।
चिनियाँ सरकार र जनताकातर्फबाट राष्ट्रपति सीले मृतकप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।राष्ट्रपति सीले राष्ट्रपति पौडेल र नेपाल सरकारको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रका जनताले अप्ठेरो पार गरी सकेसम्म चाँडो घर पुनःनिर्माण गर्न सक्ने विश्वास व्यक्त गर्दै नेपाललाई आवश्यक विपद् सहयोग गर्न चीन इच्छुक रहेको उल्लेख गरेका छन्।
यसैगरी चिनियाँ प्रधानमन्त्री ली छ्याङले पनि आफ्ना नेपाली समकक्षी पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समवेदना सन्देश पठाएका छन्। जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राती ११ः४७ बजे गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण ठूलो जनधनको क्षति भएको छ।