उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ जाजरकोट भूकम्पबाट पीडितका लागि राहत र उपचारका सामग्री लिएर त्यसतर्फ प्रस्थान गरेका छन्। मन्त्री श्रेष्ठको टोलीमा संघीय सरकारका चार मन्त्री र केही सांसद पनि छन्।
सरकारले राहतका सामग्री पुर्याउन नसकेको गुनासो आइरहेका बेला गृहमन्त्री श्रेष्ठसहित चार मन्त्री राहत सामग्री बोकेर त्यसतर्फ प्रस्थान गरेका हुन् । उनीहरुले १०५० थान स्लिपिङ ब्याग, २०० थान त्रिपाल र १०० थान ब्ल्याङकेटसहितका सामा लगेका छन्।
टोलीमा उपप्रधानमन्त्री श्रेष्ठसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, उर्जामन्त्री शक्ति बस्नेत र सांसद एवं माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मालगायत छन्।
शुक्रबार मध्यरातमा गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा मात्रै १५७ जनाको मृत्यु भएको छ भने डेढ सयभन्दा धेरै घाइतेको उपचार भइरहेको छ। भूकम्प र त्यसपछिका पराकम्पबाट त्रसित स्थानीयहरु चिसोमा खुला आकाशमुनि रात कटाउन बाध्य छन्।
शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल भूकम्प प्रभावित क्षेत्र पुगेर उद्धार र उपचारका लागि निर्देशन दिएका थिए । आइतबार बिहान बसेको बैठकले अब राहत र पुनःस्थापनाका लागि आवश्यक व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।