शनिबार, जेठ ५, २०८१

जाजरकोट भूकम्पको २४ घण्टामा के–के भयो ?

भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ भने ३७५ जना घाइते भएका छन्।
 |  आइतबार, कात्तिक १९, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १९, २०८०

काठमाडौं– जाजरकोटमा शक्तिशाली भूकम्प गएको २४ घण्टा बितेको छ। शुक्बार राति ११ बजेर ४७ मिनेटमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। 

triton college

शनिबार राति १२ बजेसम्ममा भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ भने ३७५ जना घाइते भएका छन्। गृह मन्त्रालयका अनुसार जाजरकोटमा १०५ जना र छिमेकी जिल्ला रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको हो।

सामान्य घाइतेहरुको उपचार स्थानीय तथा जिल्ला अस्पतालमा भइरहेको छ भने गम्भीर घाइतेहरुलाई हवाई उद्धार गरी काठमाडौं, सुर्खेत र नेपालगञ्ज ल्याइएको छ। काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा ८ जनाको उपचार भइरहेको छ।

000
भूकम्पका कारण कति घर क्षति भयो भन्ने विषयमा भने सरकारले आधिकारिक सूचना दिएको छैन। प्रारम्भिक अनुमानमा ३ हजारदेखि ३५ सयसम्म घरमा भूकम्पले क्षति पुर्याएको छ। आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका, सानोभेरी गाउँपालिका र मुसिकोट गाउँपालिकामा भूकम्पले बढी क्षति पुर्याएको छ।

भत्केका तीन हजार बढी घरमध्ये रूकुम पश्चिममा २ हजारदेखि २५ सय र जाजरकोटमा एक हजार जति छन्। भूकम्पको केन्द्रबिन्दु बारेकोट गाउँपालिकामा धेरै घर भत्किएका छन्। तर, त्यहाँ मानवीय क्षति भने भएको छैन। भूकम्पबाट निजी आवासका साथै सरकारी संरचनामा समेत क्षति पुगेको छ। 

corrent noodles
Metro Mart

000
भूकम्पमा परी जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह ठकुरीको पनि मृत्यु भएको छ। सदरमुकाम खलंगास्थित माथिल्लो थाप्लेमा सुतिरहेको अवस्थामा घर भत्किँदा उनको मृत्यु भएको हो। घटनास्थलबाट उद्धार गरी उपचार गर्न जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै सिंहको मृत्यु भएको हो। 

गम्भीर घाइते भएका ८ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ। त्रिवि शिक्षण अस्पतालमा उपचाररत उनीहरु सबै रुकुम पश्चिमका हुन्। भूकम्ममा जाजरकोटको नलगाड नगरपालिकामा सबैभन्दा बढी ५५ जनाको मृत्यु भएको छ। यस्तै, भेरी नगरपालिकामा ४२ जना, छेडागाड नगरपालिकामा १ जना र कुशे गाउँपालिकामा ७ जना गरी १०५ जनाको मृत्यु भएको छ। मृत्यु हुने १५७ मध्ये अरु रुकुम पश्चिमका हुन्।   

शुक्रबार मध्य राति भूकम्प गएपछि मानिसहरु आफ्नो घरमा फर्किन सकेका छैनन्। ठूलो भूकम्पपछि लगातार परकम्प गइरहेका कारण स्थानीय त्रासमा छन्। उनीहरुले शुक्रबारको रात बाहिरै बिताए। शनिबार राति पनि घरभित्र फर्किने स्थिति थिएन। धेरैजसो घर कच्ची भएकाले बस्न सक्ने अवस्थामा छैनन्। यस्तो अवस्थामा भूकम्प पीडितहरु केही दिन बाहिरै बस्नुपर्नेछ।

चिसो बढिसकेकाले उनीहरुलाई झन् समस्या भएको छ। उद्धार तथा राहतकर्मीहरुले लगेका पाल र कम्बलको भरमा उनीहरु बसेका छन्। यसैबीच, जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लामा वर्षाको सम्भावना भने छैन। दुई–तीन दिनसम्म बादल लागे पनि पानी भने नपर्ने बताइएको छ। रुकुम पश्चिम र जाजरकोट दुवै जिल्लामा पानी पर्ने र हिमपात हुने सम्भावना छैन।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार भूकम्पमा परी गम्भीर घाइते भएकाहरूको उपचार काठमाडौंको त्रिवि शिक्षण अस्पताल र नेपालगञ्जको भेरी अस्पतालमा भइरहेको छ। सामान्य घाइतेहरूको स्थानीय अस्पताल र स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। सामान्य केही घाइते उपचारपछि डिस्चार्ज भएका छन्।

शनिबार उद्धारमा जुटेको सरकारले क्षतिको यकिन विवरण संकलन गर्ने काम आइतबारदेखि सुरु गर्दैछ। भूकम्प प्रभावितलाई खाने र बस्ने व्यवस्था स्थानीय सरकारले नै गर्ने भएको छ।

शनिबार बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल चिकित्सक, स्वास्थ्यकर्मी र अत्यावश्यक औषधि एवं राहत सामग्रीसहित प्रभावित जिल्लाको स्थलगत अध्ययन अवलोकनका लागि पुगेका थिए। त्यस क्रममा उनले पीडित परिवारसँग भेटघाट पनि गरे। प्रधानमन्त्री दाहाल सरोकारवाला निकायलाई तत्काल खोज, उद्धार र राहत व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउन निर्देशन दिएर काठमाडौं फर्किएका थिए। 

प्रभावित क्षेत्रमा उद्धार एवं राहतमा जुट्न सबैमा उनले अपिल गरेका छन्। घाइतेहरूको तत्काल उद्धारका लागि तीनवटै सुरक्षा निकायलाई परिचालन गरिएको उनले जनाएका छन्। प्रभावित क्षेत्रहरूमा तत्कालका लागि त्रिपाल, म्याट, लत्ताकपडा, खाद्यान्न र पकाउने भाँडा पठाउने व्यवस्था मिलाइएको छ। अहिले केही स्थानमा हेलिकप्टर र ट्रकबाट राहत सामग्री पठाइएको छ।

000
सरकारले भूकम्प प्रभावित पश्चिम रुकुम पश्चिम र जाजरकोटमा खोज-उद्धार र राहत व्यवस्थापनका लागि तत्काल १० करोड रुपैयाँ पठाउने निर्णय गरेको छ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले भूकम्प प्रभावित दुवै जिल्लामा ५-५ करोड रुपैयाँ पठाउने निर्णय गरेको हो। 
गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत हाललाई यो रकम पठाउने निर्णय भएको छ। यो रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत खर्च हुनेछ। खोज-उद्धार र राहत व्यवस्थापनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितका संयन्त्र खटिएका छन्। 

बैठकले भूकम्प प्रभावितमा खोज, उद्धार तथा घाइतेको उपचार कार्यलाई पहिलो प्राथमिकता दिई सम्पन्न गर्ने, स्थानीय अस्पतालहरूमा उपचार भइरहेका घाइतेको उपचारलाई प्रभावकारी बनाउन आवश्यक विशेषज्ञ चिकित्सकसहितका जनशक्ति, अत्यावश्यक औषधि उपकरण छिटो साधनद्वारा प्रभावित क्षेत्रमा पुर्याउने, थप उपचारका लागि स्वास्थ्य जनशक्ति सुर्खेत, नेपालगन्ज र काठमाडौंमा तयारी अवस्थामा राख्ने निर्णय गरेको छ। 

बैठकले तत्काल राहत व्यस्थापनका लागि खाद्यान्न र अस्थायी आवास (टेण्ट, त्रिपाल, कम्बल, म्याट्रेस, स्लिपिङ ब्याग आदि सामग्री प्रभावित जिल्लामा पठाउने एवं खोज, उद्धार, उपचार र समन्वयका लागि सुर्खेतलाई मुख्य र नेपालगन्जलाई सहायक केन्द्र तोकी आवश्यकतानुसार साधन स्रोत परिचालन गर्ने निर्णय गरेको छ।

000
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूकम्पबाट प्रभावित जिल्लामा कार्यरत कर्मचारीहरूलाई तत्काल काममा फर्कन निर्देशन दिएको छ। प्रभावित जिल्लाका स्थानीय निकायमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीलाई यथाशीघ्र आफ्नो कार्यालयमा हाजिर हुन मन्त्रालयले निर्देशन दिएको हो। 

मन्त्रालयले शनिबार सूचना जारी गर्दै बिदामा रहेका कर्मचारीलाई तत्काल आफ्नो कार्यालयमा हाजिर हुन भनेको छ। काममा रहेका कर्मचारीलाई पनि तत्काल बिदामा नरहन हुन निर्देशन दिइएको मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयले भूकम्पबाट मृत्यु भएका नागरिकको खोजी एवं घाइतेको राहत तथा उद्धार, स्वास्थ्य उपचारसहित अन्य सबै पक्षको व्यवस्थापन प्रत्यक्ष एवं अप्रत्यक्ष सघाउ पुर्याउन अग्रसरता देखाई कार्य प्रवाह गर्न गराउन प्रभावित जिल्लामा सबै स्थानीय निकाय तथा स्थानीय निकायका पदाधिकारी तथा कर्मचारीलाई अनुरोधसमेत गरेको छ।

000
नेपाल प्रहरीले भूकम्प प्रभावितको नाममा अवाञ्छित गतिविधि र ठगी हुन सक्ने भएकाले निश्चित गरेर मात्रै सहयोग गर्न अनुरोध गरेको छ। भूकम्प पीडितहरूलाई इन्टरनेट वा अन्य माध्यमबाट आर्थिक वा अन्य सहयोग गर्दा सहयोग माग्ने व्यक्ति वा संघसंस्था आधिकारिक हो वा होइन निश्चित गरेर मात्र सहयोग गर्न अनुरोध गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताए। 

प्रवक्ता कडायतका अनुसार विगतमा यसरी सहयोगका नाममा ठगिएका र वास्तविक प्रभावितहरूले राहत नपाएका जानकारी आएको भन्दै त्यसतर्फ सचेत हुन भनिएको हो। विभिन्न सरकारी निकाय तथा संघसंस्थाले भूकम्प प्रभावित क्षेत्रमा सहयोगको घोषणा गरेका छन्। यसैगरी भारत, अमेरिका, चीन, रुसलगायतले राहत र पुनस्र्थापनामा सघाउने प्रतिबद्धता जनाएका छन्। 

सरकारले भूकम्पबाट प्रभावितको खोजी, उद्धार र उपचारमा स्थानीय प्रशासनको नेतृत्वमा सम्पूर्ण संयन्त्रलाई प्रभावकारीरूपमा परिचालन गरिएको जनाएको छ। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै सबै सुरक्षा निकाय, सरकारी संयन्त्र र गैरसरकारी क्षेत्रलाई प्रभावितको उद्धार तथा राहतमा केन्द्रित गरिएको जानकारी दिए। 

000
भूकम्पबाट पीडित सर्वसाधारणका लागि सरकारदेखि संघसंस्थाले राहतको घोषणा गरेका छन्। संघीय सरकारले जाजरकोट र रूकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रमा तत्काल राहतका लागि प्रति जिल्ला ५ करोड रुपैयाँ राहत दिने निर्णय गरेको छ।  सरकारले जाजरकोट र रुकुमलाई ५-५ करोड जिल्ला विपद् व्यवस्थापन कोषमा पठाउने निर्णय गरेको हो। 

भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा उपचारलाई पहिलो प्राथमिकता दिने भन्दै स्वीकृत मापदण्ड बमोजिम खर्च गर्ने गरी जाजरकोट र रूकुम पश्चिमको जिल्ला विपद् व्यवस्थापन कोषमा प्रदान गर्ने भनिएको छ। यो रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट पठाउने सरकारले निर्णय छ। संघीय सरकारसँगै विभिन्न प्रदेश सरकार, संघसंस्था र निजी क्षेत्रले भूकम्प प्रभावित क्षेत्रका पीडितलाई सहयोग गर्ने घोषण गरेका हुन्।  

लुम्बिनी प्रदेश सरकारले एक करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। यसैगरी प्रभावित जिल्लामा उद्धार टोली पठाउने निर्णय पनि गरिएको छ। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीको नेतृत्वमा २० जना स्वास्थ्यकर्मी र तथा स्वास्थ्य सामग्री लुम्बिनी प्रादेशिक अस्पतालबाट ५ जना चिकित्सकको टोली पनि पठाएको लुम्बिनी प्रदेशले जनाएको छ। यस्तै बागमती प्रदेशले पनि एक करोड ५० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। 

यसैगरी सुदूरश्चिम प्रदेशले तत्कालका लागि जाजरकोट र रुकुम जिल्लालाई एक  करोड रुपैयाँ राहत गर्ने निर्णय गरेको छ। यस्तै यो प्रदेशले २० जना स्वास्थ्यकर्मीको टोली पठाउने निर्णय गरेको बताइएको छ। यसैगरी कोशी प्रदेशले पनि दुई जिल्लाका भूकम्प प्रभावित क्षेत्रमा राहतका लागि एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। 

निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि एक करोड रुपैयाँ सहयोग गर्ने घोषण गरेको छ। कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक करोड रुपैयाँ सहयोग दिने निर्णय गरेको जानकारी गराएको छ। 

यस्तै सिटिजन्स बैंकले पनि भूकम्प प्रभावित क्षेत्रका पीडितका लागि २५ लाख रूपैयाँ आर्थिक सहयोगको घोषणा गरेको छ। 

गैरआवासीय नेपाली संघले भूकम्पले प्रभावित जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा राहत तथा उद्धार गर्न एक करोड १० लाख रुपैयाँको राहत कोष स्थापना गर्ने घोषणा गरेको छ। संघले १० लाख रुपैयाँ तत्काल सरकारको राहत कोषमा उपलब्ध गराउने र बाँकी एक करोडको राहतका सामाग्री वितरण गर्ने जनाएको छ। पहिलो चरणमा जाजरकोट र रुकुम पश्चिमका ४ सय परिवारका लागि प्रति परिवार  १० हजार रुपैयाँका दरले खाद्यन्न तथा लत्ताकपडा वितरण गर्ने समेत घोषण गरेको छ।  यस्तै संघकै आरके शर्मा समूहले २१ लाख रुपैयाँ सरकारको राहत कोषमा दिने बताएको छ। 

नेपाल आयल निगमले भूकम्प प्रभावितको उद्धारमा परिचालन भएका हवाईजहाज र हेलिकप्टरकोमा प्रयोग हुने इन्धन खर्च बेहोर्ने घोषणा गरेको छ। निगमले भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिएका नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाइजहाज एवं हेलिकप्टरमा प्रयोग हुने हवाई इन्धन वापतको खर्च बेहोर्ने घोषणा गरेको हो। 

यसैगरी नेपाल टेलिकमले भूकम्प प्रभावित तीन जिल्लामा पाँच दिनका लागि सेवा निःशुल्क गरेको छ। जाजरकोट, रुकुम पश्चिम र पूर्वमा निःशुल्क भ्वाइस, एसएमएस र उद्धार क्षेत्रमा सूचना आदानप्रदान गर्न आवश्कयताअनुसार निःशुल्क नमस्ते वाइफाइ सेवा उपलब्ध गर्ने निर्णय हो। 

निजी क्षेत्रको एनसेल आजियाटाले पनि भूकम्प पीडितको उद्धार, उपचार र राहतका लागि तत्काल ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। कम्पनीले भूकम्प पीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई उक्त रकम उपलब्ध गराउने भएको हो। यसैगरी  एनसेलले प्रभावित जिल्ला जाजरकोट र रुकुमका ग्राहकलाई ४० लाख ब्यालेन्स बराबरको सेवा निःशुल्क उपलब्ध गराउने छ। 

स्वदेश मात्र नभएर विभिन्न अन्तर्राष्ट्रिय मुलुकले पनि नेपाललाई सहयोग गर्ने प्रतिवद्धता गरेका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाललाई सबै सहयोग गर्न भारत सरकार तयार रहेको ट्वीटरमार्फत जनाएका छन्।

यस्तै नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भूकम्प प्रभावितका लागि १० करोड रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने बताएका छन्। उनले ट्वीटर मार्फत चीन–साउथ एसिया कन्ट्रिज इमर्जेन्सी सप्लाईज रिजर्भद्वारा उक्त सहयोग गर्ने जानकारी दिएका हुन्। यसैगरी अमेरिकी सरकारले पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएको छ। 

प्रकाशित: Nov 05, 2023| 00:05 आइतबार, कात्तिक १९, २०८०
प्रतिक्रिया दिनुहोस्