शनिबार, जेठ ५, २०८१

भूकम्प पीडितको उद्धारमा प्रधानमन्त्रीको १८ घण्टा

जाजरकोट र रुकुम पश्चिमका धेरै गाउँ भूकम्पबाट थिलथिलो भएको छ। अधिकांश मानिस खुला स्थानमा रात कटाउन बाध्य भएका छन्। राहत र उद्धारको काम चलिरहेको छ।
 |  शनिबार, कात्तिक १८, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १८, २०८०

काठमाडौं- शुक्रबार मध्यरात सम्पूर्ण नेपाली निद्रामा थिए। विपत्तिका सामु कसैको केही लागेन। एकाएक धर्ती हल्लियो। निद्रामा रहेका मानिस ब्यूँझिए। कुकुर भुके, बास बसेका चराको चित्कार सुनियो। काठमाडौँ उपत्यकासहित देशभर नै धक्का महसुस भयो।

triton college

समय थियो शुक्रबार राति ११ बजेर ४७ मिनेटको। जाजरकोटको रामिडाँडालाई केन्द्रबिन्दु बनाएर छ दशमलव चार म्याग्निच्युडको भूकम्पले विशेषगरी छिमेकी रुकुम पश्चिमलाई नराम्ररी हल्लाइदियो। विसं २०७२ वैशाख १२ गतेको जस्तै धक्का पश्चिम नेपालका दुई पहाडी जिल्लाले यसपटक व्योहोर्नुपरेको छ।

भूकम्पको धक्का काठमाडौँ उपत्यका र भारतको राजधानी नयाँ दिल्लीसम्म महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। हालसम्म सो भूकम्पमा परी एक सय ५७ जनाको मृत्यु भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। हालसम्म जाजरकोटमा एक सय पाँच जना र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ।

जाजरकोट र रुकुम पश्चिमका धेरै गाउँ भूकम्पबाट थिलथिलो भएको छ। अधिकांश मानिस खुला स्थानमा रात कटाउन बाध्य भएका छन्। राहत र उद्धारको काम चलिरहेको छ। पहिलो चरणमा सरकारले भूकम्प प्रभावितको सकुशल उद्धारमा ध्यान केन्द्रित गरेको छ। करिब–करिब उद्धारको काम पूरा भएको स्थानीय प्रशासनले जनाएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार रातिदेखि नै प्रभावितको उद्धारमा प्रभावकारीरूपमा खटिन निर्देशन दिएअनुसार काम भएको बताइएको छ। प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार प्रधानमन्त्री दाहालले शनिबार बिहान १ बजेभित्रै जाजरकोट र रुकुम पश्चिमको अवस्थाका बारेमा जानकारी लिए। 

corrent noodles
Metro Mart

भूकम्प गएको थाहा पाउनेबित्तिकै तत्काल उद्धार र राहतमा खटिन उनले मातहतका निकाय, सुरक्षाकर्मीलाई निर्देशन दिएको थियो। प्रधानमन्त्री आज झण्डै १८ घण्टा जाजरकोट र रुकुम पश्चिमलाई नै केन्द्रमा राखेर खटिएका थिए। 

आफैँले विवरण लिएपछि प्रधानमन्त्री प्रचण्डले शनिबार बिहान ३ बजे नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा आवश्यक प्राविधिकसँग उद्धारका बारेमा छलफल गरी आवश्यक निर्देशन दिएका थिए। आवश्यक तयारीलगत्तै बिहान ६ बजे ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, पूर्वअर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा र जाजरकोटबाट कर्णाली प्रदेशसभा सदस्य राजीवविक्रम शाहीसहित विमानस्थल पुगेका प्रधानमन्त्रीले आफूसँगै १६ जना स्वास्थ्यकर्मीलाई प्रभावितस्थल लिएर गए।

सचिवालयमा रहेका सहयोगीलाई काठमाडौँमा नै छाडेर प्रधानमन्त्री सीमित सुरक्षाकर्मीका साथ जाजरकोटको मालिका ब्यारेकमा बिहान ८ बज्दा नबज्दै पुगे। आम नेपालीले नियमित काम सुरु नगर्दै प्रधानमन्त्री नेतृत्वको टोली भूकम्प प्रभावितस्थल जाजरकोट पुगिसकेको थियो। केन्द्रबिन्दु नै भएका कारण यसपटकको भूकम्पले सबैभन्दा बढी क्षति जाजरकोटमा नै पुगेको छ। त्यसपछि रुकुम पश्चिममा जनधनको क्षति भएको छ।

earthquake-1699060865.jpg

जाजरकोटको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीका अनुसार केन्द्रबिन्दु भए पनि त्यहाँ मानवीय क्षति कम भएको छ। भौतिक संरचनामा भने ठूलो क्षति भएको छ। झण्डै एक हजार परिवार विस्थापित भएका छन्। उनीहरुको घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ। बस्नै नहुने अवस्था छ। त्यहाँ अन्य एक हजार पाँच सयको हाराहारीमा घर जोखिममा छन्।

'भूकम्प सम्झँदा र घरको अवस्था देख्दा सबै तर्सित छन्। भूकम्प पीडित गाउँभन्दा टाढा जङ्गल, गुफा र चौरमा बसिरहेका छन्,' उनले भने। केन्द्रबिन्दु रहेको भूकम्पबाट त्यहाँ सडकलगायत भौतिक संरचनामा क्षति पुगेको छ। घर क्षतिग्रस्त छन्। जमिन भासिएको छ। चिराचिरा परेको छ। भग्नावशेषजस्तो देखिएको छ। गाउँपालिकाको केन्द्रबाट तीन किलोमिटर टाढा रहेको भूकम्पको केन्द्रबिन्दुमा बस्ती, जङ्गल र खोला छ।

जाजरकोटको भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीका अनुसार प्रधानमन्त्री दाहालले प्रभावित क्षेत्रको अवलोकन गरेर पीडामा रहेका नागरिकलाई मल्हमपट्टी लगाउन सहयोग पुगेको छ। उनले भने, 'प्रधानमन्त्रीले नै स्थलगत निरीक्षण गरेका छन्। विश्वास छ, सङ्घीय सरकारले ठूलो सहयोग गर्नेछ।'

प्रधानमन्त्री  प्रचण्डले धेरै प्रभावितमध्येको एक जाजरकोटको नलगाड नगरपालिकाको दलीबाट आफू चढेर गएको हेलिकोप्टरमा नै सात जना घाइते र सात जना कुरुवालाई उद्धार गरेर उपचारमा पठाएका थिए। 

घाइतको तत्काल उद्धारमा जोड दिनुभएका प्रधानमन्त्रीले दिउँसो फर्कने क्रममा पनि एक बालकसहित तीन जनालाई रुकुमको आठबिसकोटबाट उद्धार गरेर उपचारका लागि सुर्खेत छाडेर आए। गम्भीर अवस्थामा रहेका सात जना घाइतेलाई नेपाल वायु सेवा निगमको जहाजमार्फत काठमाडौँ ल्याइएको छ।

प्रधानमन्त्री प्रचण्डले शनिबार सानीभेरी, आठबिसकोट, मुसीकोट, जाजरकोटको थाप्लेचौर, नलगाडलगायत स्थानमा आफैँ पुगेर घाइतेको अवस्थाका बारेमा जानकारी लिए। उनले उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकहरूलाई आग्रह गरे। थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा पठाउन तथा खर्चको कुनै चिन्ता नगर्न ढाडससमेत दिएका छन्। 

यस्तै उद्धार र राहतमा खटिएका सुरक्षाकर्मीलाई समेत उच्च मनोबलका साथ खटिन निर्देशन दिएका प्रधानमन्त्रीले सरकारको तर्फबाट सबै प्रकारको सहयोग रहने र साथैमा रहेको बताएका थिए। घरबास भत्केर खुला स्थानमा पुगेका नागरिकसँग प्रत्यक्ष संवाद गर्न एकाबिहानै प्रधानमन्त्री पुग्दा धेरैले आश्चर्यसमेत मानेका थिए।

प्रधानमन्त्रीले भूकम्पमा परी निधन भएका मानिसका आफन्तसँग रुकुमको राडीबजारमा भेटेर समवेदना प्रकट गरे। उनले सरकार साथमा भएकाले चिन्ता नगर्न आग्रह गर्दै पुनःस्थापना र राहतको प्रबन्ध गरिने विश्वास दिलाएका थिए। 

आज दिनभरजसो भूकम्प प्रभावितसँग रहनुभएका प्रधानमन्त्रीले सोही क्रममा गृह, सञ्चार तथा सूचना प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीलाई पनि आ–आफ्नो मन्त्रालयमार्फत गर्नुपर्ने राहत र उद्धारको कामको तयारी गर्न निर्देशन दिएको प्रेस संयोजक शर्माले जानकारी दिए। प्रधानमन्त्रीको निर्देशनलगत्तै ती मन्त्रालयले पनि प्रभावितलाई केन्द्रमा राखेर आवश्यक निर्णय गरेका छन्।

उद्धारको काम सम्पन्न भएको निष्कर्षमा पुगेका प्रधानमन्त्रीले राहत, पुनःस्थापनाका लागि आवश्यक निर्णय गर्न आइतबार बिहान मन्त्रिपरिषद्को बैठक बोलाए। 

अधिकारसम्पन्न स्थानीय सरकार गठन भएका कारण उद्धारको काम प्रभावकारी भएको निष्कर्षका साथ काठमाडौँ फर्किएका प्रधानमन्त्री प्रचण्डले दोस्रो चरणमा राहतको कामलाई प्राथमिकतामा साथ युद्धस्तरमा अगाडि बढाउने विश्वास स्थानीय प्रभावितलाई पनि दिलाए।

भूकम्पबाट भत्किएका घर तथा आवास, सरकारी संरचना तथा अन्य भौतिक पूर्वाधारको निर्माणका लागि प्राधिकरणको मोडालिटीमा नै नयाँ संरचना निर्माण गर्नुपर्ने हो कि भन्ने निष्कर्षमा प्रधानमन्त्री पुगेका छन्। 'स्थलगत निरीक्षणका क्रममा देखिएको अवस्था, विज्ञहरूको सुझाव तथा अन्य परिस्थितिलाई ख्याल गरेर आइतबार बस्ने मन्त्रिपरिषद्को बैठकले आवश्यक निर्णय गर्नेछ। आज विभिन्न मन्त्रालयले गरेका निर्णयलाई समेत सरकारले ग्रहण गर्ने सरकारको तयारी छ,' प्रेस संयोजक शर्माले भने।

पश्चिम नेपालमा लगातार भूकम्प गइरहेको सन्दर्भलाई ध्यान दिएर सरकारले दीर्घकालीनरूपमा पनि उपयुक्त समाधान खोज्ने तथा सुरक्षित आवास निर्माण गर्नुपर्ने आवश्यकता देखेको छ। प्रधानमन्त्रीले भूकम्पपछिको पुनःनिर्माणका लागि आवश्यक सबै प्रबन्ध गर्ने र त्यसमा सबै राजनीतिक दल र सरोकारवालाको साथ खोजेका छन्। 

जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रको अनुगमन गरेर फर्किने क्रममा नेपालगन्ज विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले आज उद्धार र उपचारमा ध्यान केन्द्रित गरिएको बताएका थिए। 

प्रधानमन्त्री प्रचण्डले आइतबारदेखि राहत र पुनःस्थापनाको काममा लाग्ने उल्लेख गरे। उनले नेपाललाई चाहिने सहयोग गर्ने भनेर छिमेकी मुलुकबाट पनि फोन आएको तथा मन्त्रिपरिषद् बैठकमा निर्णय गरेर आवश्यक सहयोगबारे बताउने जानकारी गराएको उल्लेख गरेका छन्। - रासस

प्रकाशित: Nov 04, 2023| 21:05 शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्