काठमाडौं– सत्तारुढ कांग्रेसले भूकम्प पीडितको उद्धार, राहत र पुनस्र्थापनाका लागि पार्टीका तर्फबाट सरकारलाई ५० लाख उपलब्ध गराउने निर्णय गरेको छ।
कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न अपिलसमेत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
शुक्रबार राती जाजरकोटलाई केन्द्रबिन्दु बनाएर ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौँ घाइते भएका छन् ।
कांग्रेसले उक्त घटनाले समस्त नेपालीलाई मर्माहत र दुःखी बनाएको उल्लेख गर्दै यस्तो समय सरकार, राजनैतिक दल, संघ–संस्था सबै एक भएर विपद्को सामना गर्न सबैमा अपिल गरेको छ।
प्रभावित क्षेत्रमा खटिन सभापति देउवाको अपिल
कांग्रेसले भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति भएको र सयौंको संख्यामा घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहतका लागि नेता, कार्यकर्तालाई प्रभावित क्षेत्रमा खटिन अपिल गरेको छ।
सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज विज्ञप्तिमार्फत सम्पूर्ण पीडितको संवेदनशीलताप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सहानुभूति प्रकट गरेका छन्। उनले भूकम्पबाट प्रभावितलाई सुरक्षित स्थलतर्फ तत्काल स्थानान्तरण गर्न, तीव्र गतिमा उद्धार कार्य गर्न, घाइतेको उपचार तथा राहतमा जुट्न सरकारसँग माग गरेका छन्।
सभापति देउवाले कांग्रेसका सम्पूर्ण पार्टी निकायलाई भूकम्प प्रभावित क्षेत्रमा सक्रियतापूर्वक उद्धार, राहत र पुनर्निर्माणमा जुट्न निर्देशन दिँदै यस विपत्तिको सामना संयम, धैर्यता र एकतापूर्वक गर्न सम्पूर्णमा अपिल गरेका छन्।
उनले भूकम्पमा परी दिवंगत भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकको आत्माको चिरशान्तिको कामना तथा शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।