काठमाडौं– राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जाजरकोट भूकम्प पछिल्लो समय बझाङमा गइरहेका परकम्प नभएको बताएको छ। शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ।
वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले जाजरकोट भूकम्प गत महिना बझाङमा गएको भूकम्पको परकम्प नभएको बताएका हुन्। उनले गए राती जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्प बझाङको परकम्प नभएर नयाँ भूकम्प भएको दाबी गरे।
उक्त भूकम्पको केन्द्र जमिनको सतहदेखि १० देखि १५ किलोमिटर भित्र रहेको उनको भनाइ छ। जाजरकोट भूकम्पपछि आज मात्रै चार वटा परकम्प गएको बताइएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि एक घन्टामा चार परकम्प गएको हो। केन्द्रका अनुसार सोही स्थान केन्द्रबिन्दु भएर १२ बजेर ८ मिनेटमा ४ दशमलव ५, १२ बजेर २९ मिनेटमा ४ दशमलव २ र १२ बजेर ३५ मिनेटमा ४ दशमलव ३ रेक्टरस्केलको परकम्प गएको हुन्।
नेपालको पश्चिम क्षेत्रमा विगत ५च सय वर्षदेखि ठूलो भूकम्प नगएकाले जुनसुकै बेला जान सक्ने हुँदा सचेत रहनुपर्ने डा अधिकारीले बताए। नेपालको हिमालय क्षेत्रलाई भूकम्पको सम्भावित क्षेत्रका रुपमा लिने गरिन्छ । पछिल्लो समय नेपालको पश्चिमी क्षेत्र भएर भूकम्प जाने क्रम बढ्दो देखिएको छ।