कोशी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। कांग्रेसबाट विद्रोह गरेर एमालेसँग मिलेर मुख्यमन्त्री बनेका केदार कार्कीले गठबन्धनका दुई जना मन्त्री नियुक्त गरेपछि असन्तुष्ट बनेको एमाले सरकारबाट बाहिरिएको हो।
एमालेले चर्को दबाब दिए पनि मुख्यमन्त्री कार्कीले शुक्रबार गठबन्धनबाट माओवादीका एक र नेकपा एकीकृत समाजवादीका एक जना मन्त्री नियुक्त गरेका थिए।
यसबाट असन्तुष्ट बनेको एमालेले आफ्ना मन्त्री राम रानामगरलाई पदबाट राजीनामा गर्न लगाएर सत्ताबाट बाहिरिएको हो। मन्त्री रानाले आज बिहान मुख्यमन्त्री कार्कीलाई राजीनामा बुझाएका छन्।
एमालेले आफ्नो पार्टी र कांग्रेसको मात्र सरकार हुनुपर्ने अडान लिँदै आएको थियो। २७ असोजमा एमालेको समर्थनबाट कांग्रेस सांसद कार्की आफुसहित ७ जना सांसदहरुको सर्मथन लिएर मुख्यमन्त्री नियुक्त्त भएका थिए।
उनले संविधानको धारा १६८ को उपधारा (५) अनुसार राप्रपाबाहेक अन्य सबै दलहरुबाट विश्वासको मत पनि लिइसकेका छन्।