उद्धार, उपचार र राहतका लागि स्वास्थ्यकर्मी, उद्धारकर्मी र राहत सामग्री लिएर नेपाली सेनाका तीन हेलिकप्टर, नेपाल वायु सेवा निगमको एक जहाज जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रतर्फ लागेका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार औषधि, स्वास्थ्यकर्मी र राहत सामग्री लिएर सेनाको स्काई ट्रक, स्वास्थ्यकर्मी लिएर अर्को हेलिकप्टर जाजरकोट र रुकुम पश्चिम प्रभावित क्षेत्रमा उडिसकेका छन्। त्यस्तै स्वास्थ्य र सामग्रीसहित नेपाल वायु सेवा निगमको ट्विनअटर जहाज चौरहजहारी विमानस्थलतर्फ उडेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जामन्त्री एवं जाजरकोटका सांसद शक्ति बस्नेत, रुकुम पश्चिमका सांसद जनार्दन शर्मा उपचार सामग्री र स्वास्थ्यकर्मीसहित प्रभावित क्षेत्र जाजरकोटमा पुगेका छन्। यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि पार्टीको देशव्यापी भेला स्थगित गरेर भूकम्प प्रभावित क्षेत्रमा पुग्दैछन्।
कर्णाली प्रदेश सरकारले सुर्खेतबाट स्वास्थ्यकर्मी र औषधि बोकेर एक हेलिकप्टर पठाएको छ भने लुम्बिनी सरकारले पनि उद्धार टोली खटाएको छ।