बुधबार, असार २५, २०८२

भूकम्पमा घाइते उपचारका लागि हेलिकप्टर पठाउने सरकारको तयारी

 |  शनिबार, कात्तिक १८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १८, २०८०

vianetvianet

काठमाडौं- सरकारले जाजरकोट र रुकुमका भूकम्पमा परी घाइते भएको उपचार र प्रभावितको उद्दार र राहतका लागि स्वास्थ्यकर्मी सहित हेलिकप्टर पठाउने तयारी गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको हेलो सरकारले तत्काल हेलिकप्टर पठाउने तयारी भइरहेको जनाएको हो।

‘भूकम्पका घाइतेहरुको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन्,’ सामाजिक सञ्जालमार्फत हेलो सरकारले भनेको छ, ‘घाइतेहरूको उद्धारका लागि औषधि, स्वास्थ्यकर्मी र हेलिकप्टर पठाउने तयारी भइरहेको छ।’ 

जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार मध्यराति एक घण्टाको अवधिमा चार पटक भूकम्पको धक्का गएको छ। जाजरकोट आसपासलाई केन्द्र बनाएर मध्यराति गएको ६.४ म्याग्निच्युडको भूकम्प गएको हो। 

पहिलो पटक ११:४७ मा ६.४ म्याग्‍निच्युडको भूकम्प गएकोमा त्यसको २१ मिनेटको फरकमा दोस्रो पटक ४.५ म्याग्‍निच्युडको पराकम्प गएको भूककम्प मापन केन्द्रले जनाएको छ। 

त्यसैगरी १२:२९ मा तेस्रो पटक ४.२ म्याग्‍निच्युड र १२:३५ मिनेटमा ४.३ म्याग्‍निच्युडको पराकम्प गएको हो। यसरी पटक-पटक भूकम्पको धक्कामा परी जाजरकोट र रुकुम पश्‍चिममा करिब ५० जनाको मृत्यु भएको छ।  

कुम पश्चिमका डिएसपी नमराज भट्टराईका अनुसार रुकुममा मात्र हालसम्म २८ जनाको मृत्यु भएको प्रारम्भिक जानकारी आएको छ।

नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह सहित जाजरकोटमा मात्र हालसम्म २० जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी सन्तोष रोकाका अनुसार अहिलेसम्म २० जनाको ज्यान गएकोको खबर प्राप्तको बाँकी विवरणहरु आइरहेको छ।

भूकम्पमा ठूलो मानवीय र भौतिक क्षति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीनवटै सुरक्षा निकायलाई उद्दार र राहतमा सक्रिय रुपमा जुट्न निर्देशन दिएका छन्।

उनले घाइतेहरुको तत्काल राहत र उद्धारका लागि सबै संयन्त्रहरुलाई सक्रिय काम गर्न भनेका छन्। रातीको घटना भएकाले धेरै क्षति भएको हुनसक्न आंकलन छ। घाइतेहको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन्।

प्रकाशित: Nov 04, 2023| 05:00 शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्