काठमाडौं- हमास समूहले ७ अक्टोबरमा इजरायल विरुद्ध आक्रमण सुरु गरेपछि र इजरायलद्वारा नाकाबन्दी गरिएको गाजा पट्टीमा प्रतिआक्रमण सुरु गर्यो। उक्त इजरायल-हमास युद्धको रिपोर्टिङका लागि खटिएका विश्वका विभिन्न आमसञ्चारमाध्यमका ३६ जना पत्रकारहरु मारिएका छन्।
पत्रकार सुरक्षा समिति (सीपीजे) का अनुसार ३ नोभेम्बरसम्म ३६ जना पत्रकार र सञ्चारकर्मीहरु मारिएका छन्। इजरायली रक्षा बल (आईडीएफ) ले गाजा स्ट्रिपमा कार्यरत पत्रकारहरूको सुरक्षाको ग्यारेन्टी गर्न नसक्ने स्पष्ट पारेको छ।
रोयटर्स र एएफपीले इजारी सेनालाई पत्रकारको सुरक्षामा गम्भीर बनिदिन अपिल गरेपछि इजरायली रक्षा बलले आफ्ना पत्रकारहरुको सुरक्षा आफैं गर्न र सेनाले ग्यारेन्टी गर्न नसक्ने बताएको रोयटर्सले रिपोर्ट गरेको छ।
'आईडीएफले गाजाभरि हमासका सबै सैन्य गतिविधिलाई लक्षित गरिरहेको छ,' आईडीएफले पत्रमा भनेको छ, 'हामासले जानाजानी सैन्य कारबाहीहरू पत्रकार र सर्वसाधारणको वरपरमा राखेको छ... हामी तपाईंका कर्मचारीहरूको सुरक्षाको ग्यारेन्टी दिन सक्दैनौं, र तपाईंलाई कडाइका साथ आग्रह गर्दछौं कि आफ्ना पत्रकारहरुको सुरक्षाको लागि सबै आवश्यक उपायहरू अवलम्बन गर्नुस्।'
गाजा शहरमा इजरायली भूमि हमला, विनाशकारी इजरायली हवाई आक्रमण, सञ्चार अवरुद्ध, र व्यापक बिजुली कटौतीको सामना गर्दा गाजा क्षेत्रमा खटिएका पत्रकार उच्च जोखिमको सामना गरिरहेका छन्।
नोभेम्बर ३ सम्ममा ३६ पत्रकार र सञ्चारकर्मीको मृत्यु भएको पुष्टि भएको छ। जसमा ८ पत्रकार घाइते भएको बताइएको छ भने ३ जना पत्रकार बेपत्ता छन्। यससँगै ८ जना पत्रकारलाई नियन्त्रणमा लिइएको पनि सीपीजेले जनाएको छ। तर, कसको नियन्त्रणमा भन्ने खुलाइएको छैन।
सीपीले अन्य पत्रकार मारिएका, बेपत्ता र हिरासतमा परेका, चोटपटक वा धम्की दिएका र सञ्चारमाध्यमका कार्यालय र पत्रकारको घरमा क्षति पुर्याएका धेरै अपुष्ट रिपोर्टहरूको पनि अनुसन्धान गरिरहेको जनाएको छ।
'पत्रकारहरू संकटको समयमा महत्त्वपूर्ण काम गर्ने नागरिक हुन् र युद्धरत पक्षहरूद्वारा लक्षित हुनु हुँदैन,' सीपीजेको मध्य पूर्व र उत्तर अफ्रिका कार्यक्रम संयोजक शेरिफ मन्सुरले भने, 'यस द्वन्द्वलाई कभर गर्नका लागि उक्त क्षेत्रभरका पत्रकारहरूले ठूलो त्याग गरिरहेका छन्। गाजामा भएकाहरूले, विशेष गरी ठूलो चुनौतीको सामना गरेका छन्।'