पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दीमा रोकेर राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हरिवन नगरपालिका–११ बस्ने २८ वर्षीय मुकेशकुमार गुप्ता र सोही ठाउँका ३५ वर्षीय सुनीलकुमार गुप्ता छन्।
लालबन्दी नगरपालिका–१७ कालिन्जोरस्थित राजमार्गमा बिग्रेर रोकिराखेको बीआर०६जीडी३१४१ नम्बरको ट्रकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश–२–०३–००४–५३५५ नम्बरको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको थियो।
मोटरसाइकल चालक मुकेशको टाउकोमा गम्भीर चोट लागेकाले उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको थियो। अस्पताल ल्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
पछाडि सवार सुनीलको पनि टाउको, चिउँडो, नाक र हातमा चोट लागेर गम्भीर घाइते भएका थिए। उपचारका लागि बर्दिवासस्थित जनसेवा अस्पतालमा पुर्याइए पनि उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।