शुक्रबार, जेठ २२, २०८३

बस्ती पातलियो, घरघरमै पस्छ चितुवा

 |  शुक्रबार, कात्तिक १७, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १७, २०८०

बलेवा- गाउँमा घर रित्ता छन्। पाखो बारीमा रुख हुर्किरहेका छन्। खेतका फाँट कुकाठले भरिएर जङ्गल बनेको छ। बस्ती नजिकका पाखा केही वर्षअघि गाईबस्तुको चरिचरण क्षेत्र थियो। दिनभरि गाईबस्तु चरेकै कारण जङ्गल हुनबाट पाखा जोगिएका थिए। आजभोलि फुकुवा गाईबस्तु गाउँघरमा भेट्नै मुस्किल छ। त्यसैले ती पाखामा जङ्गल भरिएको छ।

National life

दश वर्षअघिसम्म बस्तीको नजिक नदेखिने जङ्गली जनावर आजभोलि बागलुङका ग्रामीण बस्तीका घरघरमै देखिन थालेका छन्। जङ्गली जनावर बस्ती नजिक मात्रै पुगेका होइनन् एकाद घरमा ती जनावरले क्षतिसमेत पुर्‍याउन थालेका छन्।

जिल्लाको दक्षिण जैमिनी नगरपालिका–१ कुश्मीशेराकी चन्द्रमा शर्माको गोठमा चार दिनअघि चितुवा पस्यो। साँझकै समयमा घरदेखि केही परको जङ्गलमा कराइरहेको चितुवा रातको समयमा गोठमा पसेर खोरमा थुनेका बाख्रालाई आक्रमण गर्‍यो। चन्द्रमाले एक वर्षअघि १० हजार तिरेर ल्याएको माउबाख्रो चितुवाले खोरबाट निकालेर चार कान्लामुनि पुर्‍यायो। पातलो गाउँमा छिमेकी निस्केर धपाउँदाधपाउँदै घाँटीमा घाउ बनाएर रगत चुसेको अवस्थामा बाख्रो चितुवाको मुखबाट खोसियो। बाख्रो एक दिनभन्दा बढी बाँचेन्।

गाउँ छेउका पल्लो पाखार सामुदायिक वन र जलुके तारेभिर सामुदायिक वनमा चितुवा कराउन छोडेका छैनन्। दिनभर गाउँमा बाँदरको आतङ्क छ। रात परेपछि चितुवा कराउँदै घरघरै आइपुग्छन्। ‘पहिला वनमा चराउन लगेका बाख्रा चितुवाले खान्थ्यो घरमै पसेको कमै सुनिन्थ्यो’, शर्माले भने, ‘छ महिना पहिला बनाएको नयाँ खोरका फलिया फालेर बाख्रो उडायो, पाठा घाइते छन्।’

उनको बाख्रो खाएको एक दिनपछि छिमेकमा बाँदर धपाउन पालेको गुरुप्रसाद आचार्यको कुकुर चितुवाले खायो। गोठकै छेउको खोरमा थुनेको कुकुर रातको समयमा चितुवा पसेर खाएको आचार्यले बताए। ‘गाउँ पातालो छ। मान्छेभन्दा जङ्गली जनावर धेरै हुन थाले’, उनले भने, ‘गरिखान नसकिने अवस्था आयो। बालीनाली बाँदरले खान्छ। पशु पाले बाघलाई, कसरी बस्नु गाउँमा?’

Shivam cement

बसाइँसराइले बस्ती पातलो हुनु, जङ्गलमा आहाराको कमी हुनु र नजिकमा रहेको निकुञ्जमा मध्यवर्ती क्षेत्र नहुनुले जङ्गली जनावर गाउँ पस्न थालेको डिभिजन वन कार्यालय बागलुङका प्रमुख शरद अधिकारीले बताए। ‘मुख्यगरी जङ्गलमा आहारा नभएपछि मात्रै जङ्गली जनावर जोखिम मोलेर गाउँ पस्छन्’, उनले भने, ‘जिल्लामा सिकार आरक्ष छ। तर वफर जोन छैन। आरक्षबाट बाहिर निस्केका जनावर बस्तीसम्म पुगेका हुन सक्छन्।’

प्रकाशित: Nov 03, 2023| 05:02 शुक्रबार, कात्तिक १७, २०८०
प्रतिक्रिया दिनुहोस्