इजरायलले गाजाको जबालिया शरणार्थी शिविरमा फेरि आक्रमण गरेको छ। इजराइली डिफेन्स फोर्स (आइडिएफ)ले गाजापट्टीको उक्त शिविरमा बुधबार पनि आक्रमण गरेको हो।
दोस्रो आक्रमणमा हमासको एन्टी-ट्यांक मिसाइल युनिटका प्रमुख मुहम्मद एसार मारिएको दाबी इजरायलले गरेको छ।
हमासले भने इजरायलको यो आक्रमणबाट १९५ जनाभन्दा बढी प्यालेस्टिनी नागरिक मारिएको दाबी गरेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।
नागरिकहरूको घना आवादी भएको जबालिया शरणार्थी शिविरमा मंगलबार पनि इजरायलले हवाई आक्रमण गरेको थियो। उसले त्यहाँ हमासका जबालिया कमान्डर इब्राहिम बियारी मारिएको दाबी गरेको थियो।
मंगलबारको आक्रमणबाट पनि दर्जनौं नागरिकको मृत्यु हुनुका साथै सयौं घाइते भएका थिए। त्यहाँ रहेका घरमा बसेर हमासले इजरायलविरूद्ध रणनीति बनाएको आइडिएफको दाबी छ।
हमासले भने इजरायलको उक्त दाबी अस्वीकार गर्दै आइरहेको छ। उसले प्यालेस्टिनी नागरिकहरूको हत्या गरी इजरायलले मानवताविरूद्धको अपराध गरेको आरोप लगाएको छ।
यसैबीच इजरायलले जबालियामा दोस्रो पटक हवाई आक्रमण गरेको विषयमा अर्जेन्टिनाले भर्त्सना गरेको छ। त्यस्तै संयुक्त राष्ट्रसंघले पनि यसलाई युद्ध अपराधको संज्ञा दिएको छ।
बोलिभियाले मंगलबार नै इजरायलसँगको कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरिसकेको छ। अक्टोबर ७ यता इजराइलको आक्रमणबाट साढे ८ हजारभन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भइसकेको छ।