आइतबार, वैशाख २३, २०८१

तिहारका लागि विद्यालयमा फूल उत्पादन

 |  बिहीबार, कात्तिक १६, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १६, २०८०

धुलिखेल- काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ मेथिनकोटस्थित जनक माध्यमिक विद्यालयका विद्यार्थी तिहारका लागि फूल उत्पादनमा जुटेका छन्। उनीहरुले विद्यालय परिसरमा रहेको खाली जग्गामा फूल खेती गरेका छन्।

triton college

‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत फूल खेती गरिएको हो। विद्यालय संयोजक एवं जनक बहुमुखी क्याम्पसका प्रमुख हरिहर अधिकारीका अनुसार ३० हजार रुपैयाँ लगानीमा एक हजार पाँच सय बोट सयपत्री रोपिएको छ । अहिले फूल फुलेर ढकमक्क भएको छ ।

‘करिब दुई रोपनी जग्गामा फूल खेती गरेका छौँ’, उनले भने, ‘एक लाख ५० हजार आम्दानी हुने अनुमान छ।’ विद्यालय परिसर पनि आकर्षक देखिने र आम्दानी पनि लिन सकिने भएकाले व्यावसायिकरुपमा फूल खेती गरिएको उनले बताए। त्यसबाट प्राप्त रकमको ३५ प्रतिशत विद्यार्थीलाई प्रदान गरिने छ भने बाँकी रकम विद्यार्थी कल्याण कोषमा राखिने छ।

विद्यालयले पहिलो पटक फूल खेती गरेको हो । आगामी वर्षदेखि फूल खेती विस्तार गरिने संयोजक अधिकारीको भनाइ छ। दसैँ तिहार बिदाका कारण रेखदेख गर्न कामदार राखेको उनले बताए। विद्यालयले विद्यार्थीलाई दैनिक दुई घण्टा उपार्जनको काममा अनिवार्य काम गर्नुपर्ने विद्यालयले नियम बनाएको छ। त्यसरी काम गरेबापत छात्राबासमा बस्ने विद्यार्थीका लागि खाने र बस्ने निःशुल्क व्यवस्था गरिएको संयोजक अधिकारीले बताए।

‘उत्पादन गरेको फूल बिक्रीको टुंगो लागिसकेको छ’, उनले भने।

corrent noodles
Metro Mart

विद्यालयमा पाँच वर्षदेखि पशु विज्ञान विषयमा पठनपाठन गरिँदै आएको छ । विगत दुई वर्षदेखि ‘पढ्दै कमाउँदै’ कार्यक्रमसमेत लागू गरिएको छ । कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई यसमा संलग्न गरिएको छ।

विद्यालयले सुरु गरेको तरकारी खेतीदेखि धान खेती, कुखुरा र बाख्रापालनसँगै अहिले विद्यालयले दूध उत्पादन गर्ने गरी पशु विज्ञान प्रयोगशालाका लागि भवनसमेत निर्माण गरिसकेको छ। विद्यालयले १७ रोपनी जग्गामा खेती गर्दै आएको छ । विद्यालयका प्रधानाध्यापक प्रदीप पोख्रेलले ‘पढ्दै कमाउँदै’ कार्यक्रमबाट विद्यालय र विद्यार्थीलाई सिर्जनशील बन्न मद्दत पुगेको बताए।

प्रकाशित: Nov 02, 2023| 09:41 बिहीबार, कात्तिक १६, २०८०
प्रतिक्रिया दिनुहोस्