शुक्रबार, जेठ २२, २०८३

तिहार आउन लागेपछि व्यस्त भए कुमाले

 |  बुधबार, कात्तिक १५, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १५, २०८०

महोत्तरी- चन्द्रमासले कात्तिक कृष्णपक्ष लागेसँगै मधेशका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा कुमाले जाति समुदायको व्यस्तता बढेको छ। यसपक्षको अन्त्यमा पर्ने दीपावली र त्यसलगत्तै सुरु हुने छठपर्वमा माटाका भाँडाको माग बढ्ने आशले कुमाले यो पक्ष लागेसँगै व्यस्त भएका हुन्। 

National life

दीपावली र छठपर्वमा कलश राखिने भाँडा, दियो, घडा (गाग्रो) र छ्याँची (दही जमाउने भाँडा)र ढकनासहित नयाँ माटाका भाँडा प्रयोग गरिने मैथिल परम्पराअनुसार अहिले यी भाँडा बनाउने काम कुमाले समुदायको प्राथमिकतामा परेको हो।

वर्षभरि अन्यबेला खासै प्रयोगमा आउन छाडेका माटाका भाँडा पर्वविशेषमा मिथिला परम्परामा अनिवार्य जस्तै मानिन्छ। पर्व विशेषमा बत्ती बालिने दियो, कलश राखिने अङ्खरा वा करुवा, पर्वका दही जमाइने छ्याँची, पर्वमा चढाइने सामग्री राखिने तौला र गाग्रीसहितका माटाका नयाँ भाँडा प्रयोग गर्ने स्थापित परम्परा छ। यस परम्पराले अहिले प्राचीन मिथिलाक्षेत्रका सबैजसो हटिया (बजार) मा अहिले माटाका भाँडाको बजार जम्दैछ।

महोत्तरीको सुदूरउत्तरवत्र्ती मुख्य व्यापारिक केन्द्र बर्दिबासको मुख्यचोक र हटियामा अहिले २० वटाभन्दा बढी माटोका भाँडा पसल थापिएका छन्। अन्यबेला साप्ताहिक हाट लाग्ने दिनमात्र यी भाँडाका बजार लागे पनि अहिले कात्तिक कृष्णपक्ष सुरु भएसँगै दिनदिनै माटाका भाँडाको बजार जमेको बर्दिबास व्यापार सङ्घका महासचिव उत्तम श्रेष्ठले बताए। 

मिथिला क्षेत्रमा माटाका नयाँ भाँडा शुभकार्य गर्न उत्तम हुने धार्मिक, सांस्कृतिक र सामाजिक मान्यताले चाडपर्वमा यसको माग बढ्ने गरेको यस क्षेत्रका उद्यमी व्यापारीको भनाइ छ। दीपावली र छठपर्वमा पूजाआराधनामा प्रयोग गरिने सामग्री माटाकै भाँडामा राखनधरन गरिने परम्पराले माटाका नयाँ भाँडाको कारोबारमा  वृद्धि भएको यस्ता भाँडा बनाउने पेसाका कुमालहरुको भनाइ छ। 

Shivam cement

भाँडा बिक्री भएसँगै आफूहरूको दीपावली र छठपर्वको खर्च जोहो हुने गरेको  कुमाल (माटाका भाँडा बनाउने मिथिला क्षेत्रका जातीविशेष) बताउँछन्। पर्वको मुख पारेर महोत्तरीका बर्दिबास, औरही, सीतापुर, रामगोपालपुर, गौशाला, सम्सी र जिल्ला सदरमुकाम जलेश्वरसहितका नगरमा माटाका भाँडाका स्थायी स्टल (पसल) नै राखिएका छन्। महोत्तरीबाहेकका मधेश प्रदेशका अन्य जिल्लाका बजारमा पनि माटाका भाँडा बिक्री हुँदै आएका छन्। 

माटाका भाँडा–वर्तनको बिक्रीका लागि दिवाली र छठ पर्वपूर्व उपयुक्त बेला मानिन्छ। विगतमा घर व्यवहार प्रयोजनमा बाक्लै माटाका भाँडा प्रयोग गरिने भए पनि अब दैनिक प्रयोजनमा यसको प्रयोग हुन छाडेको छ। यसैले चाडपर्वका लागि मात्र यसको माग हुने गरेको कुमाले बताउँछन्। मिथिलामा दीपावली, छठ, चौरचन र दसैँ माटाका नयाँ भाँडाको माग हुने मुख्य पर्व भए पनि यसको छुट्टै बजारको चहलपहल चाँहि दीपावली र छठपर्वको मुखमा हुने गरेको छ।

 मिथिला क्षेत्रमा दुई दशक पहिलेसम्म माटाका भाँडा दैनिक प्रचलनमा रहे पनि त्यसयता प्लास्टिकका भाँडाको प्रयोग बढेपछि आफूहरूको व्यवसाय चाडपर्व विशेषमा खुम्चिएको कुमाले बताउँछन्। अहिलेको कमाइले सालभरिको नगद खर्चको जोहो गर्नुपर्ने हुँदा काम भ्याइनभ्याइ  परेको भङ्गाहा  नगरपालिका-५ भूचक्रपुर बस्तीका काशीलाल पण्डित कुमालले बताए। 

दिवाली र छठपर्वका अवसरमा महोत्तरीका बजारमा ५० लाखभन्दा बढीको माटाका भाँडाको कारोबार हुने जलेश्वर उद्योग वाणिज्य सङ्घका पदाधिकारीको अनुमान छ। कात्तिक कृष्णपक्षसँगै जमेको माटाका भाँडाको बजार छठसम्मै रहने र यस्ता सामानमा केही मूल्यवृद्धिसमेत भएको हुँदा यी पर्वभित्र जिल्लाभरिमा ५०  लाखभन्दा बढीको कारोबार हुने जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष लवराजा सिंहले बताए।  -रासस

प्रकाशित: Nov 01, 2023| 22:29 बुधबार, कात्तिक १५, २०८०
प्रतिक्रिया दिनुहोस्