नेपालको चारदिने औपचारिक भ्रमण गरी संयुक्त राष्ट्र संघ (यूएन) का महासचिव एन्टोनियो गुटेरेस बुधबार बिहान फर्किएका छन्। उनलाई उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे।
आइतबार बिहान काठमाडौं आइपुगेका महासचिव गुटेरेसले सोही दिन राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, कांग्रेस अध्यक्ष शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेपाल सरकारका परराष्ट्रमन्त्री एनपी साउद र उपप्रधान तथा रक्षामन्त्री खड्कालाई भेटेका थिए।
सोही दिन पाटन दरबार स्क्वारसमेत भ्रमण गरेका गुटेरेसलाई प्रधानमन्त्री दाहालले होटल सोल्टीमा रात्रिभोजसमेत दिएका थिए। महासचिव गुटेरेले मंगलबार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि भेटवार्ता गरे।
गुटेरेसले भ्रमणको क्रममा सगरमाथा क्षेत्र र अन्नपूर्ण बेस क्याम्प पनि पुगे। उनले एक रात पोखरामा बिताए। उनी मंगलबार लुम्बिनी भ्रमणमा पनि गए। महासचिव गुटेरेसले मंगलबार बेलुकी संघीय संसद्को दुवै सदनलाई सम्बोधन गरे। उक्त अवसरमा उनले संक्रमणकालीन न्याय टुंग्याउन, जलवायु परिवर्तनको असर र विश्व शान्तिमा नेपालको योगदानको बारेमा मुख्य चर्चा गरे।
सन् २००८ मा तत्कालिन महासचिव वान कि मुन पछि महासचिव गुटेरेसले अहिले भ्रमण गरेका हुन्।