शुक्रबार, जेठ २२, २०८३

पर्वतमा पहिलोपटक सयपत्री फूलको व्यावसायिक खेती

 |  मंगलबार, कात्तिक १४, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १४, २०८०

पर्वत- पर्वतमा पहिलोपटक सयपत्री फूलको व्यावसायिक खेती सुरु गरिएको छ। दक्षिण पर्वतको विहादी गाउँपालिका-६, शालिग्रामस्थित हनुमानडाँडाका एक युवाले व्यावसायिकरुपमा फूल खेती सुरु गरेका हुन्।

National life

घर वरिपरी तथा करेसाबारीमा प्राकृतिक कारणले उम्रिएका फूलका बोटबाट उत्पादित फूलले दसैँ, तिहार तथा विभिन्न मेला महोत्सवमा माला तथा फूलको प्रयोग गर्दै आए पनि जिल्लामै पहिलोपटक स्थानीय मेघनाथ भट्टराईले चालु आर्थिक वर्षदेखि परीक्षणको रुपमा गरिएको फूलखेती सफल भएको छ।

उनले भट्टराई पशुपक्षी तथा कृषि फार्ममार्फत व्यक्तिगत लगानीमा झन्डै दुई रोपनी जमिनमा सयपत्री फूल लगाएका छन्। अहिले परीक्षणको रुपमा लगाइएको फूलले बजार राम्रो पाएमा व्यवसाय विस्तार गर्दै जाने योजनासमेत बनाएका छन्। विभिन्न प्रकृतिका सयपत्री फूल बिक्रीबाट यसवर्ष न्यूनतम दुई लाख रूपैयाँभन्दा बढी आम्दानी हुने उनको अपेक्षा छ। तिहारको बेला फूल बिक्रीका लागि स्थानीय सेतीवेणी बजार, हुवास, स्याङ्जा, वालिङलगायत बजारमा पठाउने तयारी गरेकोसमेत भट्टराईले बताए।

जिल्लाभर फूलको खेती गर्ने र बिक्रीवितरण गरी आम्दानी गर्ने प्रचलन नभएपछि उनले विभिन्न सञ्चारमाध्यममा देखेको भरमा उक्त खेती गर्न सुरु गरेका हुन्। सुरुवातमा ५० हजार रूपैयाँ लगानी गरेर फूलको खेती गरिएको भट्टराईले बताए। गत साउनमा लगाइएका सयपत्रीका बिरुवा अहिले फुलेर लटरम्म भएका छन्।

नेपालीको दोस्रो ठूलो पर्व तिहारसमेत नजिकिँदै गएका बेला बारीभरी पहेँलपुर बनेको फूलले सहजै बजार पाउने भट्टराईको विश्वास छ। कोदो र मकै खेती हुने बारीमा यस वर्षदेखि फूलखेती गरिएको हो। 'मकै लगाए बाँदरले सखाप पारिदिन्छ, त्यो भन्दा फूलखेती गरेमा धेरै आम्दानी गर्न सकिएला भन्ने ठानेर कोदो र मकैको सट्टा फूलखेती गरेको हुँ', उनले भने।

Shivam cement

यसअघि पर्वतका सातवटै पालिकामा यसरी व्यावसायिकरुपमा फूल लगाएको नपाइएको पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष गोपी अधिकारीले बताए। उनले अन्य समयभन्दा तिहारको बेला बाहिरवाट लाखौँको फूल र माला आयात हुने गरेको बताउँदै जिल्लामै उत्पादन भएमा फूल आयात गरिरहनु नपर्ने समेत बताए। बाह्रैमास सयपत्री उत्पादन गर्न सकेमा कुनै पनि सभा समारोहमा बाहिरबाट फूल आयात गर्न नपर्ने र व्यवसायीले समेत मनग्गे आम्दानी गर्न सकिने अध्यक्ष अधिकारीले जानकारी दिए। विहादी गाउँपालिका-६ शालिग्रामका वडाध्यक्ष मोहन बस्यालले जिल्लामै व्यावसायिक रुपमा सयपत्रीको फूलको खेती गर्ने भट्टराई पहिलो किसान भएको जिकिर गरे।

वडामा उद्यमशील बन्छु भन्ने हरेक नागरिकलाई आफूले जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताउँदै उनले मौसमी तथा बेमौसमी सयपत्री फूलको व्यावसायिक खेती टिकाउन सके विदेशबाट आयातित फूल र प्लास्टिकका माला विस्थापित हुने र वातावरणीय प्रदूषण हट्ने जानकारी दिए। तिहारमा जतिसक्दो प्राकृतिक फूलबाट बनेका माला लगाएर स्थानीय फूल उद्यमीलाई  प्रवद्र्धन गर्नसमेत आग्रह गर्दै वडाध्यक्ष बस्यालले यस अघि एक रोपनी क्षेत्रफलमा अदुवा, बेसार र खुर्सानी लगाउने किसानलाई प्रति व्यक्ति रु २० हजार अनुदान उपलव्ध गराएको बताए।  -रासस

प्रकाशित: Oct 31, 2023| 19:41 मंगलबार, कात्तिक १४, २०८०
प्रतिक्रिया दिनुहोस्