शुक्रबार, जेठ २२, २०८३

महोत्तरीमा गाँजाको तस्करी र कारोबार बढ्यो

 |  सोमबार, कात्तिक १३, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १३, २०८०

महोत्तरी- गाँजाकै कारण केही दशकअघि महोत्तरीको अजमरपट्टी बस्ती संसारभर चर्चामा थियो। गाँजाको लत लागेका व्यक्तिहरूले यहाँको अजमरपट्टीको चर्चा गरिरहन्थे। ‘त्यतिखेर आफ्नो जिल्लाको एउटा सानो बस्तीको नाउँ विदेशीले किन लिन्छन् आखिर के रहेछ त्यहाँ? भन्ने लाग्थ्यो,’ एक विदेशी नागरिकले अजमरपट्टीबारे चासो राखेको पुरानो सन्दर्भ  बर्दिबास–६ किसान नगरका ७० वर्षीय वीरबहादुर सुसलिङ सम्झिए। 

National life

‘त्यही चासोले अजमरपट्टी जाँदा त्यतिखेर जिल्लाको उत्तरक्षेत्रमा खेती गरिने सूर्तीको ‘प्याक’ बनाएको देखेको मलाई अजमरपट्टीमा बनाइने ‘प्याक’ पनि कुनै एकखाले सुर्तीकै हो भन्ने परेको थियो,’ करिब पाँच दशकअघिको कुरा सम्झदै सुसलिङले भने, ‘ती त गाँजाका प्याक रहेछन् भन्ने निकैपछि थाहा पाएँ।’ 

सरकारले गाँजा खेती निस्तेज गर्न कडाइ सुरु गरेसँगै अजमरपट्टीमा गाँजा नष्ट गरिएका खबर रेडियोबाट सुनेपछि बल्ल आफूले त्यहाँ देखेको ‘प्याक’ सुर्तीको नभएर गाँजाको भएको रहस्य थाहा पाएको सुसलिङ सम्झनछन्। 

त्यहाँ (अजमरपट्टी) उत्पादित गाँजा विश्व बजारमा उत्तम भएको सो बस्तीका छ दशक उमेर नाघेका पाका व्यक्ति अझै बताउँछन्। ‘गाँजा खानेहरूले हाम्रो बस्तीको नाउँ जान्दथे,’ सो बस्तीका ७० वर्षीय रामअनेक मण्डल भन्छन, ‘समय गयो, गाँजा खेती सरकारले बन्द गर्‍यो, अब यो नाउँ बिर्सेहोलान् सबैले।’

अजमरपट्टीको माटोमा गाँजा राम्ररी फस्टाउने र अन्तराष्ट्रिय बजारमा यो ठाउँमा उत्पादित भनेपछि राम्रो मूल्यमा बिक्री हुने कुरा विगत सम्झदै अहिले पनि सो बस्तीका बुढापाका बताउँछन्। समयक्रममा अजमरपट्टी र आसपासको गाँजाखेती त सरकारी प्रयत्नले निर्मूलजस्तै भयो। तर गाँजा तस्करीको केन्द्रचाँही महोत्तरी झन् बलियो बन्दै गएको त्यसयताका बर्सेनिका घटनाले देखाउँदै आएका छन्। 

Shivam cement

अहिले महोत्तरी गाँजा उत्पादन होइन, यो अवैध कारोबार व्यवस्थापन र ओसारपसारको केन्द्र जस्तै बन्दै गएको छ। भित्री पाहाडी खोंच र पाखाभित्तामा उत्पादित गाँजा सुरक्षाचौकी छल्दै महोत्तरीका विभिन्न बस्तीमा लुकाइने र भारतीय तस्करसँगको समन्वयले बाहिरिने गरेको पछिल्ला एक दशकयताका घटनाले देखाउने प्रहरी अधिकारी नै स्वीकार गर्छन्। 

‘अब महोत्तरीमा गाँजा खेती भेटिन्न, प्रहरीको निरन्तरको प्रयत्नले यो करिब निर्मूल भएको छ,’ जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी ९प्रवक्ता० प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरी भन्छन, ‘तर ओसारपसारको थलो चाँही अवैध धन्दावालले यो ठाउँलाई बनाउँदै आएका देखिन्छ।’

प्रकाशित: Oct 30, 2023| 19:41 सोमबार, कात्तिक १३, २०८०
प्रतिक्रिया दिनुहोस्