मंगलबार, असार ३, २०८२

बढ्दैछन् घुमन्ते नेपाली

ढोरपाटन देशकै एकमात्र सिकार आरक्ष हो। सिकारमा विदेशीको आकर्षण रहे पनि ढोरपाटन क्षेत्र घुम्न जानेमा बढी आन्तरिक पर्यटक नै हुन्छन्।
 |  सोमबार, कात्तिक १३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १३, २०८०

vianetvianet

गण्डकी- अघिल्लो शरद याममा कास्कीको कोरी ‘ट्रेक’मा पदयात्रा गरेका निसान खड्काले यसपालिको दसैं बिदामा कास्कीकै मर्दी हिमालको आधार शिविरलाई गन्तव्य बनाए।

दसैंको भोलिपल्ट बागलुङबाट दुई साथीसहित मर्दी घुम्न निस्किएका उनी चार दिनको पदयात्रा सकेर आइतबार घर फर्किए। पेसाले शिक्षक खड्काले दसैंकै छेकोमा यसअघि मुगुको रारा ताललगायत पर्यटकीय स्थलको घुमघाम गरिसकेका छन्।

‘दसैंको बिदामा पदयात्रामा निस्कनुको मज्जा नै बेग्लै हुन्छ, शरद ऋतु यसै पनि घुमौंघुमौं लाग्ने याम हो’, उनले सुनाए, ‘नयाँ ठाउँको संस्कृति, रहनसहन र भूगोलबारे जान्न यात्राले सघाउँछ।’

पदयात्रा आफैंमा रोमाञ्चक र आनन्ददायक हुने खड्काको अनुभव छ। ‘मर्दी यात्रा पनि स्मरणीय रह्यो, छोटो दूरीको पदयात्राका लागि मर्दी ट्रेक उपयुक्त गन्तव्य रहेछ’, उनले भने, ‘दसैंलगत्तै मर्दी ट्रेक घुम्न निस्केका पर्यटकको बाटैभरि लर्को नै थियो।’

खड्कासहितको टोली कास्कीको काँडेबाट छिरेर दुई दिनको पदयात्रामा मर्दी हिमालको आधार शिविर पुगेको थियो। फर्किंदा घान्द्रुक, नयाँ पुल हुँदै बागलुङ फर्केको खड्काले बताए।

पोखरा महानगरपालिका–२९ भण्ढारढिककी आरजु खत्रीले पनि यसपालिको दसैं बिदामा घुम्नका लागि मर्दी आधार शिविरलाई रोजिन्। काठमाडौंबाट आएका दुई साथीसहित दसैंको पर्सी पल्ट उनले मर्दीका लागि यात्रा तय गरेकी थिइन्। ‘काँडे, अष्ट्रेलियन क्याम्प, देउराली हुँदै पहिलो दिन हाइक्याम्प पुगेर बास बस्यौं, दोस्रो दिन मर्दी आधार शिविर पुगेर दोस्रो दिन घर फर्कियौं’, खत्रीले भनिन्, ‘हिमपातपछि खुलेको मौसममा यात्रा निकै रमाइलो भयो, हिमालको छेउमै पुग्दाको क्षण वर्णन गर्न नसकिने खालको थियो।’

सूचना प्रविधि विषयमा अध्ययनरत उनी दसैँमा लामो बिदा हुने भएकाले घुम्न रुचाइन्। खत्रीले गत वर्ष हिउँदमा कास्कीकै अर्को पर्यटकीय गन्तव्य खुमै डाँडाको पदयात्रा गरेकी थिइन्। उनले मर्दी आधार शिविर पुग्दा पर्यटकको बाक्लो चहलपहल देखेको सुनाइन्। ‘धेरै आन्तरिक पर्यटक नै थिए, विशेष गरी युवा बढी देखिन्थे’, खत्रीले भनिन्।

काठमाडौंमा व्यवसाय गर्ने बागलुङका ओम खत्री पनि दसैंको भोलिपल्टै साथीहरूसँग ढोरपाटन घुम्न निस्किए। आफ्नै जिल्लामा पर्ने भए पनि ढोरपाटन यात्रा उनका लागि पहिलो थियो। ‘ढोरपाटन घुम्न पहिले देखिनै उत्सुक थिएँ, अहिले बल्ल मौका जुर्‍यो’, खत्रीले भने, ‘व्यवस्तताले नजिकका गन्तव्य पनि घुम्न पाइएको छैन, अब भने बेलाबेला घुमफिरमा निस्कनुपर्छ भन्ने लागेको छ।’

खत्रीसहित छ जना मिलेर मोटरसाइकलमा ढोरपाटन पुगेका थिए। उनीहरू तीन दिन लगाएर ढोरपाटन उपत्यका, बुकी, जलजलालगायत ठाउँ घुमेका थिए। दसैं बिदामा ढोरपाटन क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढी देखिएको खत्रीले बताए। ढोरपाटन देशकै एक मात्र सिकार आरक्ष हो। सिकारमा विदेशीको आकर्षण रहे पनि ढोरपाटन क्षेत्र घुम्न जानेमा बढी आन्तरिक पर्यटक नै हुन्छन्।

कास्कीका दिवस गुरुङले दसैंको छेकोमा तीन जापानी पर्यटकसहित सात दिन पदयात्रा गरे। कास्कीको नयाँ पुल, म्याग्दीको घोरे पानी हुँदै मुक्तिनाथसम्म पदयात्रा गरेको उनले बताए। २९ वर्षीय गुरुङले गत वर्ष दसैंताका एक्लै ‘कर्णाली यात्रा’ गरेका थिए।

मुस्ताङबाट छिरेर मुगुको रारा तालसम्म ५५ दिन उनले पदयात्रा गरेका थिए। मुस्ताङदेखि डोल्पा छिर्ने पाँच हजार मिटर उचाइको भञ्ज्याङमा पाँच दिनसम्म अलपत्र पर्नुपरेको क्षण उनको स्मृतिमा अहिले पनि ताजै छ। गुरुङले विसं २०७५ को दसैंमा पूर्वी नेपाल र मधेसका जिल्लामा ४२ दिनको साइकलयात्रा गरेका थिए। ‘साइक्लिङ र पदयात्रा गर्दा म प्रायः एक्लै हुन्छु, एकल यात्रा मेरो सोख र रोजाइ हो’, उनले भने, ‘म साथी लिएर घुम्न जाने होइन, घुमेर साथी बनाउनुपर्छ भन्ने मान्यता राख्छु।’

जतिसुकै कठिन र लामो यात्रामा पनि उनी एक्लै निस्कन्छन्। कर्णाली यात्रामा जाँदा मुस्ताङ र डोल्पाबीचको याक खर्कमा पाँच दिनसम्म सम्पर्कविहीन भएर बस्नुपरेको गुरुङले सुनाए। ‘हिमपातले अगाडि जान नसकेपछि धर्मशालामा टेण्ट हालेर रात बिताएँ’, उनले भने, ‘प्रतिकूल मौसम, त्यहीमाथि उच्च हिमाली भेग, पाँच दिनसम्म घरपरिवारसँग पनि सम्पर्क हुन नसक्दा मन केही आत्तिएजस्तो पनि भएको थियो, तर मैले आफूलाई सम्हालें र मौसम सुधारपछि यात्रामा अगाडि बढेँ।’

गुरुङले गत वर्षकै साउन र भदौमा ‘गुरिल्ला ट्रेल’मा ३५ दिन एक्लै हिँडेका थिए। उनी पदयात्री पथ प्रदर्शकसमेत हुन्। आम्दानीमा जोडिन पथ प्रदर्शकको अनुमति लिएर काम गरिरहेको गुरुङले सुनाए। ‘घुम्ने र घुमाउने नै मेरो पेसा बनेको छ, योबाहेक अरु केही सोचेको छैन, घुम्न धेरै बाँकी छ’, गुरुङले भने, ‘बढी जसो म दसैं र तिहारका बेला घुम्न निस्किरहेको हुन्छु।’ उनले पछिल्लो समय नेपालीहरूमा घुम्ने संस्कृति बढेको बताए।

दसैंलगत्तै अन्नपूर्ण चक्रीय पदमार्गमा आन्तरिक पर्यटकको घुइँचो लागेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख रविन कडरियाले बताए। आन्तरिक पर्यटकको आँकडा राख्ने नगरिए पनि बर्सेनि हजारौं नेपालीले अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने गन्तव्य स्थलको भ्रमण गर्ने गरेको उनले बताए।

पछिल्लो एक दशकयता नेपालीहरूमा घुम्ने संस्कृति ह्वात्तै बढेको प्रमुख कडरियाले उल्लेख गरे। ‘अन्नपूर्ण आधार शिविर, मर्दी, तिलिचो, थोरङ्ला भन्ज्याङलगायत क्षेत्रमा पदयात्रा गर्नेको संख्या उल्लेख्य छ, विशेष गरी नेपाली युवामा घुम्ने क्रेज बढ्दो छ। सपरिवार पनि घुम्न निस्कने चलन बढिरहेको छ’, उनले भने, ‘कोभिड–१९ महामारीताका सुस्ताएको अन्नपूर्ण क्षेत्रको पर्यटनले बिस्तारै पुरानै लय पछ्याउँदै छ।’    -रासस

प्रकाशित: Oct 30, 2023| 14:35 सोमबार, कात्तिक १३, २०८०
प्रतिक्रिया दिनुहोस्