दाङमा अस्पतालको शौचालयबाट प्रहरीलाई झुक्याएर भागेका १९ वर्षीय विवेक नेपाली पक्राउ परेका छन्। आज बिहान साढे ९ बजे उनलाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य चेक जाँचको लागि लगिएको थियो। शौचालय जाने भन्दै उनको हतकडी समेत खोलिएको थियो। त्यसैबेला उनी प्रहरीलाई छलेर भागेका थिए।
उनी घोराही-१८ नवलपुरको नाला छेउमा लुकेर बसेको अवस्थामा फेला परेका हुन्। फरार भएका नेपालीलाई खोज्न डिएसपी जनक मल्लको कमान्डमा टोली खटिएको थियो। उनलाई बिहान ११: ४० मा पुन: पक्राउ गरिएको हो।
नेपालीलाई क्षेयरोग भएको आशंकामा अस्पताल लगिएको थियो। घोराही उपमहानगरपालिका–१७ का नेपाली मोबाइल चोरी गरेको अभियोगमा शनिबार पक्राउ परेका थिए।