शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने राष्ट्रसंघका महासचिवको प्रतिबद्धता

जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने राष्ट्रसंघका महासचिवको प्रतिबद्धता

 |  सोमबार, कात्तिक १३, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १३, २०८०

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

चार दिने नेपाल भ्रमणका क्रममा सोमबार सर्वोच्च शिखर सगरमाथा अवस्थित सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-४ का स्थानीय बासिन्दासँगको अन्तरक्रियामा जलवायु परिवर्तन र यसले स्थानीयको जनजीवनमा पारेको विषयबारे जानकारी लिएका छन्। महासचिव गुटेरेसले जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप-२८) मा खुम्बुबासीका सुझावसहित जलवायुले हिमालमा परेको असरबारे ध्यानाकर्षण गराउने बताए।

उनले विश्वको प्रदूषण वृद्धिमा धनी देशको भूमिका रहेको, तर खुम्बु पासाङल्हामु गाउँपालिकाजस्ता दुर्गम स्थानमा नकारात्मक असर पर्नु दुखद् भएको बताको खुम्बु पासाङल्हामु गाउँपालिका-४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले बताए। महासचिव गुटेरेसले जलवायु परिवर्तनबाट उत्पान्न हुने समस्या कम गर्नका लागि के गर्न सकिन्छ भनेर पहल गर्ने र उक्त सन्देश विश्वभरि लैजाने प्रतिबद्धता व्यक्त गरे।

स्थानीय बासिन्दाले हिमनदी पग्लिने क्रम बढेको, जलवायुजन्य हानि नोक्सानी बढेको, पानीका स्रोत सुक्दै गएको, स्थानीय बालीनालीमा जलवायुको असर परेको, नांगा हिमालमा पानी पर्दा पहिरो जाने समस्या बढेको जस्ता विषय महासचिव गुटेरेसलाई अवगत गराएको अध्यक्ष अधिकारीले बताए। साथै स्थानीयले गाउँमा ऊर्जाको अभाव रहेको र लघु जलविद्युत् आयोजना निर्माणमा सहयोगका लागिसमेत आग्रह गरेका थिए।

महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसंघका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर-हाम्दी र संयुक्त राष्ट्र संघका अन्य अधिकारीहरू सहभागी छन्।

महासचिव गुटेरेस नेपाल भ्रमणका क्रममा आइतबार बिहान काठमाडौं आएका थिए। भ्रमणको पहिलो दिन राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरेका थिए।

भ्रमणका क्रममा उनी सगरमाथा क्षेत्र र पोखराका साथै अन्नपूर्ण आधारशिविर र लुम्बिनी जाने कार्यक्रम रहेको छ। यही कात्तिक १४ गते मंगलबार अपराह्न संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नेछन्। रासस

प्रकाशित: Oct 30, 2023| 12:40 सोमबार, कात्तिक १३, २०८०
प्रतिक्रिया दिनुहोस्