सोमबार, असार २, २०८२

डुबान रोक्न चितवनको खैरहनीमा तटबन्ध अभियान

 |  आइतबार, कात्तिक १२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १२, २०८०

vianetvianet

चितवन- पूर्वी चितवनको खैरहनी नगरपालिकाको प्रमुख बजार क्षेत्र र पर्सासहित प्रायः सम्पूर्ण भाग वर्षातकाे समयमा डुब्ने समस्या समाधान गर्न तटबन्ध अभियान सञ्चालन गरिएको छ।नगरपालिकाले आन्तरिकसहित सङ्घीय र अन्य निकायबाट समेत बजेट जुटाएर अभियानकै रूपमा तटबन्ध निर्माण थालेको हो।

नगरप्रमुख शशिकुमार खनियाका अनुसार आगामी दिनमा मुख्य बजार क्षेत्रसहितका बस्ती डुबान रोक्ने गरी काम भइरहेको छ। नदी तटबन्ध गर्दैगर्दा नदी किनारका सडकसमेत निर्माण गरिएको छ। यो संरक्षण र पर्यटनका हिसाबले महत्त्वपूर्ण हुने उनको भनाइ छ।

उनका अनुसार पर्सा बजारमा हरेक वर्ष डुबान गर्ने लदरी, ढुङ्ग्रे, बुढीराप्ती, इचर्नी खोला र मगनी घोलमा तटबन्ध र आरसीसी पर्खालको काम भइरहेको छ। उनले भने, ‘हामी निर्वाचित भएर आएपछि सुरुमै प्राविधिक लिएर डुबान क्षेत्रको अध्ययन गरेर तटबन्ध थालेका हौँ।’ सुरुमा चतरा खोलालाई एक दशमलव पाँच मिटर गहिरो बनाएर पानी कटाएको उनले बताए।

राष्ट्रिय योजना आयोगमा आग्रह गरेर कयर खोलाको तटबन्ध गरिएको छ। ४५ करोड हाराहारीमा खैरहनी र रत्ननगर नगरपालिकाको तीन दशमलव पाँच किलोमिटर तटबन्धको काम सम्पन्न भएको छ। 

त्यस्तै ढुङ्ग्रे खोलामा भारतीय राजदूतावासको सहयोगमा वडा नम्बर ७ र १० को सीमा क्षेत्रमा करिब ६ करोड ५० लाख लागतमा तटबन्धको काम अन्तिम चरणमा पुगेको प्रमुख खनियाले बताए।

नगरपालिकाले आफ्नै स्रोतबाट साढे ६ करोड व्यवस्था गरी चतरा खोला, लदरी खोला, बुढी राप्ती, पटेनी खोलाको तल्लो भाग, वडा नम्बर ५ र ६ को बीचमा रहेको गौचरनको छेउमा तटबन्धको काम भइरहेको छ।

बुढी राप्ती खोलाको छेउमा अपाङ्गतामैत्री सडकसमेत निर्माण गरिएको छ भने डुङ्गा सञ्चालन गर्न मिल्ने गरी संरचना निर्माण भइरहेको छ।

कयर, बुढी राप्ती, पटेनी, ढुङ्ग्रे खोला छेउछाउका ठाउँमा झण्डै पाँच हजार वृक्षरोपण गरिएको छ। यसले भूक्षय रोक्न सहयोग पुग्ने खनियाको भनाइ छ। उनले गत वर्षबाट थालिएका यी कामलाई यस वर्ष पनि निरन्तरता दिने बताए।

नगर उपप्रमुख कविता उप्रेतीले खैरहनीको प्रमुख समस्याको रूपमा रहेको तटबन्धनलाई प्राथमिकता दिएको बताइन्। बजार र ग्रामीण क्षेत्रमा हरेक वर्ष डुबानको समस्या हुँदै आएकामा आगामी दिनमा यो समस्या अन्त्य हुने विश्वास व्यक्त गरिन्।

प्रकाशित: Oct 29, 2023| 22:21 आइतबार, कात्तिक १२, २०८०
प्रतिक्रिया दिनुहोस्