सोमबार, असार २, २०८२

इरानले भन्यो- इजरायलले सबै हद पार गरिसक्यो

 |  आइतबार, कात्तिक १२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १२, २०८०

vianetvianet

इरानका राष्ट्रपति इब्राहिम रईसीले इजरायलले सबै हद पार गरेको टिप्पणी गरेका छन्। इजरायलको पछिल्लो कदमको आलोचना गर्दै उनले जस्तोसुकै कारबाहीका लागि इरान बाध्य हुने चेतावनी पनि दिएका छन्।

राष्ट्रपति रईसीले ट्विटरमा भनेका छन्, 'वाशिङ्‍टन हामीलाई भन्छ- केही नगर तर उसले इजरायललाई पूरा समर्थन गरिरहेको छ।'

अमेरिकी अधिकारीहरुले इरानलाई हमास-इजरायल संघर्षबाट टाढै रहन भनेपछि राष्ट्रपति रईसीको यो प्रतिक्रिया आएको हो। इरान युद्धमा सामेल भएको खण्डमा यो ठूलो क्षेत्रीय युद्धमा परिणत हुने अमेरिकाको भनाइ छ।

उता अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनका अधिकारीहरूसँग कुराकानी गर्न साउदी अरबका रक्षामन्त्री खालिद बिन सलमान अल साउद सोमबार ह्वाइट हाउस जाने अपेक्षा गरिएको अमेरिकी समाचार वेबसाइट एक्सियोसलाई उद्धृत गर्दै दि टाइम्स अफ इजराइलले बताएको छ।

इजराइल–हमास युद्ध क्षेत्रीय युद्धमा परिणत हुनसक्ने आशंकाबीच कुराकानी हुन लागेको बताइएको छ। साउदी विदेश मन्त्रालयको एक विज्ञप्तिमा शनिबार साउदी अरेबियाले इजराइलको कुनै पनि स्थल कारवाहीबाट प्यालेस्टिनी नागरिकहरूको जीवनलाई खतरामा पार्ने र यसले अमानवीय खतरा निम्त्याउने बताएको छ।

एक्सियोसका अनुसार रक्षामन्त्री बिन सलमानले ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभान, रक्षामन्त्री लोयड अस्टिन, विदेशमन्त्री एन्टोनी ब्लिंकेनसहित केही सिनेटरहरूसँग कुराकानी गर्नेछन्। इजराइल–हमास युद्धभन्दा अघिका साताहरूमा साउदी अरबले इजराइलसँगको सम्बन्धलाई सामान्य बनाउनका लागि अमेरिकी नेतृत्वको कूटनीतिमा प्रगति भएको बताएको थियो।

यसै साताको सुरुमा टेलिफोन कुराकानीमा अमेरिकी राष्ट्रपति जो बाइडेन र साउदी अरबका युवराज मोहम्मद बिन सलमान अमेरिकी मध्यस्थतामा कुराकानी ‘अघि बढाउन’ सहमत भएका थिए। अमेरिकी मध्यस्थतामा इजराइल–साउदी सम्बन्धलाई सामान्य बनाउन कुराकानी भइरहेको थियो।

यसैबीच टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले इजरायल पागलपनको अवस्थामा रहेको बताएका छन्। हमास–इजरायल युद्धको २२ औं दिनमा रेसेप तैयप एर्डोगानले इजरायल पागलपनको अवस्थामा रहेको बताउँदै प्यालेस्टाइन माथि आक्रमण रोक्नु पर्ने जनाएका छन्। 

इजरायल गाजा पट्टीबाट तत्काल बाहिर आउनुपर्ने र आफ्नो पागलपनको अवस्थाबाट बाहिर निस्कनु पर्ने उनको भनाइ छ। उनले गाजापट्टीमा भएको आक्रमण बन्द गर्नका लागि आह्वानसमेत गरेका छन्।

इजरायलले भने गाजा क्षेत्रमा हमासविरुद्ध स्थल कारबाही विस्तार गर्ने जनाएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अब अर्को चरणको युद्ध हुने घोषणा गर्दै युद्ध लामो र असहज हुने चेतावनी दिएका छन्। उनले हमासलाई पूर्ण रुपमा ध्वस्त बनाउने र त्यस सशस्त्र समूहले बनाएका बन्धकलाई मुक्त पार्ने बताएका छन्।

इजरायलको रक्षा बल गाजा क्षेत्रमा भीषण बम वर्षाका बीचमा गएराति प्रवेश गरेको सेनाले जनाएको छ। तर प्यालेस्टेनी भूभाग कब्जा गर्ने खालको कुनै प्रमुख कारबाही भने भएको छैन।
गाजा क्षेत्रमा दोस्रो दिन पनि सञ्चार विच्छेद भएको छ। सहायता निकायहरुले आफ्ना स्थल टोलीसँग सम्पर्क गर्न पाएका छैनन्।

आकाशबाट फालिएको पर्चामा गाजा सहरका बासिन्दालाई युद्धभूमि छाडेर दक्षिणतर्फ जान चेतावनी दिइएको छ। दुई सयभन्दा बढी बन्दीका परिवारले आफ्ना सदस्यहरुको स्थितिबारे चिन्ता जनाउँदै सडक आन्दोलनको चेतावनी दिएपछि नेतन्याहुले तिनका प्रतिनिधिसँग भेट गरेका छन्।

अक्टोबर ७ (असोज २०) यताको युद्धमा करिब १४ सय इजरायली र ७ हजार ६ सयभन्दा बढी प्यालेस्टेनीको मृत्यु भइसकेको छ।

प्रकाशित: Oct 29, 2023| 15:40 आइतबार, कात्तिक १२, २०८०
प्रतिक्रिया दिनुहोस्