जनकपुरधाम उपमहानगरपालिका-२३ स्थित धान खेतमा शव फेला परेका युवकको साथीबाटै हत्या भएको खुलेको छ। लागु औषध सेवनपछि मोबाइलको विषयमा विवाद हुँदा जनकपुरधाम-२४ सोनापाडका २४ वर्षीय रुपेश महराको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।
महराको दुई जना साथीले हत्या गरेका हुन्। गत बिहीबार शरीरका विभिन्न ठाउँमा रगत लागेको अवस्थामा रुपेशको शव फेला परेको थियो। महराको हत्या आरोपमा सोनापाडाका २० वर्षीय पवन सहनी र हरिचन मण्डललाई प्रहरीले पक्राउ गरेको छ।
उनीहरूविरूद्ध कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवालेले जानकारी दिए।
गत बुधबार दिउँसो रुपेश घरबाट साथीसँगै चौरीतिर हिँडेका थिए। टेम्पो चढेर जटही नाका हुँदै भारतीय बजारमा गएर उनीहरुले लागु औषध सेवन गरे। फर्केपछि बुधबार राति ९ बजे उनीहरुबीच चौरीमै मोबाइलको विषयमा विवाद भएको थियो। त्यसपछि पवन र हरिचनले मिलेर खेतमै रहेको बाँसको भाटा प्रहार गरी रुपेशको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।
उनीहरूले रूपेशलाई घाइते अवस्थामा छाडेको बयान प्रहरीलाई दिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।