सोमबार, असार २, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • उपत्यकामा दसैं सुरक्षाः १०३ वटा घटनामा २ जनाको मृत्यु, ११८ घाइते

उपत्यकामा दसैं सुरक्षाः १०३ वटा घटनामा २ जनाको मृत्यु, ११८ घाइते

यसपालिको दसैं विगतका तुलनामा शान्तिपूर्ण भएको र कुनै ठूला घटना, दुर्घटना नभएको काठमाडौं उपत्यका प्रहरी कार्यालयको दाबी।
 |  शनिबार, कात्तिक ११, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ११, २०८०

vianetvianet

काठमाडौं– नेपाल प्रहरीले उपत्यकाका तीन जिल्ला काठमाडौं ललितपुर र भक्तपुरमा यसपालिको दसैं तुलनात्मक रुपमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको बताएको छ।  विगतका तुलनामा दसैं शान्तिपूर्ण भएको र कुनै ठूला घटना, दुर्घटना  नभएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको हो।

फूलपातीयता आजसम्म केही छिटफुट घटना भए पनि ठूला आपराधिक घटना, चोरी डकैती, तथा दुर्घटना नभएको कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले बताए। उनका अनुसार शान्ति सुरक्षाका हिसाबले यसपालिको दसैं विगतका वर्षमा भन्दा सौहार्दपूर्ण रुपमा सकिएको छ।

उपत्यकाका तीन जिल्लामा चाडबाड विशेष सुरक्षा योजना तयार पारी निगरानी गरिएको र सम्भावित जोखिम क्षेत्रमा सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको थियो। तालिमप्राप्त कुकुर र ड्रोनको समेत प्रयोग गरेर तीनै जिल्लामा सुरक्षा निगरानी गरिएको उनले जानकारी दिए। 

प्रहरी वरिष्ठ उपरीक्षक मैनालीले भने, ‘सुरक्षा व्यवस्थामा कुनै कसर बाँकी राखिएको थिएन। सादा पोसाकमा पनि प्रहरी परिचालन गरेर सूक्ष्म निगरानी गरिएको थियो भने सुरक्षा निगरानीका लागि ड्रोन र कुकुरको समेत प्रयोग गरिएको थियो। यस अवधिमा उपत्यकाको सुरक्षा व्यवस्था चुस्त बन्यो। अब छठसम्मै यसलाई जारी राख्ने योजनाका साथ निगरानी भइरहेको छ।’

यद्यपि, कडा सुरक्षाका बीच पनि छिटफुट घटना भने देखिए। ४ कात्तिक फूलपातीदेखि शुक्रबार बिहानसम्म उपत्यकामा १०३ वटा घटना भएका छन्। ती घटनामा परेर दुई जनाको मृत्यु भएको छ भने ११८ जना घाइते भएका मैनालीले बताए।

यसबीचमा २० वटा सवारी दुर्घटना हुँदा २८ जना घाइते भएका छन्। सवारी साधन एकापसमा ठक्कर खाएर ५१ वटा दुर्घटना भएको थियो। उक्त दुर्घटनमा ७३ जना घाइते भएका थिए भने एक जनाको मृत्यु भएको थियो। 

प्रहरीका अनुसार कुटपिट र झैझगडाका १३ घटनामा एक जनाको मृत्यु भएको छ भने १३ घाइते भएका छन्। चोरीका १० र धारिलो हतियार प्रहारसम्बन्धी दुई वटा घटना भएको प्रहरीको तथ्यांकमा उल्लेख छ। 

जुवातास खालबाट काठमाडौंबाट सात, ललितपुरबाट १३ र भक्तपुरबाट दुई जना गरी  २२ जना पक्राउ परेका छन्। उनीहरुको साथबाट ५ लाख नगद बरामद गरिएको छ।

प्रकाशित: Oct 28, 2023| 10:52 शनिबार, कात्तिक ११, २०८०
प्रतिक्रिया दिनुहोस्