काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र बढ्दो विवादका बीच दुई पक्षका अध्यक्षबीच भेटवार्ता भएको छ। अध्यक्ष डा बद्री केसी र अर्का अध्यक्ष आरके शर्माबीच एनआरएनएलाई विवादरहित बनाउने प्रयासस्वरुप पुनः निर्वाचनको बटमलाइन पहिल्याउन भेटवार्ता भएको हो।
भेटमा केसीले मिलेर जान शर्मालाई प्रस्ताव गरेका छन्। केसीले निर्वाचनमा भएको भनिएको धाँधलीको विषयमा छानबिनका लागि आफू मातहतको समिति बनाउन प्रस्ताव गरेको बताइएको छ। तर, शर्माले पुनर्निर्वाचन नभएसम्म अरू विकल्पमा सोच्न नसकिने जवाफ फर्काएका छन्।
शर्माले पुनर्निर्वाचनका लागि केसीले विज्ञप्ति निकालेर आए आफूले साथीहरुसँग छलफल गर्नेसमेत बताएका छन्। ‘भेटमा मैले निर्वाचन त्रुटिपूर्ण रह्यो। पुनर्निर्वाचन भयो भने सोच्न सकिन्छ, यसको अरु विकल्प छैन भनेर स्पष्ट कुरा राखेको छु’, केसीसँगको भेटपछि शर्माले भने, ‘२० तारिखको सम्झौता कार्यान्वयन नहुँदा बाध्य भएर हामीले वैधानिक ढंगले कार्यक्रम गरेर मेरै नेतृत्वम नयाँ कार्यसमिति गठन गरेका हौं। एनआरएनएको माया उहाँ (केसी) मा छ भने पुनर्निर्वाचनका लागि तयार हुनुपर्छ।’
निर्वाचन परिणाममा धेरै त्रुटि भेटिएको र जनमानसमा पनि विश्वास टुसकेकेकाले एनआरएनएलाई पुरानै शाखमा फर्काउन पुनर्निर्वाचनको विकल्प नभएको उनको भनाइ छ। निर्वाचन प्रक्रियामा त्रुटि भएको केसीले पनि विज्ञप्तिमा स्वीकारिसकेको विषय भएको शर्माको भनाइ थियो। उनले त्रुटिपूर्ण निर्वाचन भइसकेपछि अरू विकल्प सोच्न नसकिने दोहोर्याए।
राजधानीको ठमेलस्थित हिमालयन जाभामा करिब ३० मिनेट लामो भेटका क्रममा केसीले मिलेर जाने प्रस्ताव गरे पनि अहिलेको अवस्थामा मूल मुद्दा सम्बोधन हुन नसकेकाले शर्माले नस्वीकारेको एनआरएनएका नेता डीबी क्षेत्रीले जानकारी दिए।
अध्यक्ष केसी एक्लै शर्मासँग भेट्न हिमालयन जाभा पुगेका थिए। शर्मासँग उनका चुनावी कमान्डरसमेत रहेका क्षेत्री पनि पुगेका थिए। ‘म र आरके शर्माले चुनावमा अनियमितता भयो, त्यसलाई सच्याएर जानु भनेको पुनर्निर्वाचन हो भन्ने कुरा स्पष्ट राखेका छौं’, क्षेत्रीले भने, ‘यद्यपि हामीबीचमा कुनै समझदारी बन्न सकेन।’
३ कात्तिकको (अक्टोबर २०) निर्वाचन परिणामको विषयमा प्रश्न उठेपछि केसीसहित कुल आचार्य र रविना थापाले विज्ञप्ति जारी अर्को निर्णय नभएसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित भएको घोषणा गरेका थिए। तर, त्यसको भोलिपल्टै एकाएक केसी विजयी भएको घोषणा गरेर अध्यक्षको सपथ खुवाइएको थियो।
सहमतिअनुसार १५ दिनभित्र निर्वाचनमा भएको भनिएको धाँधलीबारे छानबिन गर्ने र त्यसबारे आउने रिपोर्टका आधारमा अघि बढ्ने भनिए पनि केसीले एकाएक सपथ लिएपछि शर्मा समूह चिढिएको थियो।
लगत्तै अध्यक्षका अर्का उम्मेदवार महेश श्रेष्ठसमेतको समर्थनमा केसी इतर पक्षले महाधिवेशनको बाँकी प्रक्रिया पूरा गरेर आरके शर्मालाई अध्यक्ष चयन गरेको थियो। केसी अवैध बाटोबाट अध्यक्ष चुनिएको र आफूहरु नै आधिकारिक रहेको शर्मा पक्षधरले बताउँदै आएको छ।
३ असोजमा जारी विज्ञप्तिमा २ कात्तिकमा सम्पन्न निर्वाचनको अन्तिम परिणाम घोषणाको क्रममा देखा परेको प्राविधिक त्रुटिका कारण उत्पन्न परिस्थितिलाई ध्यानमा निर्वाचनका सम्पूर्ण कार्यक्रम अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको उल्लेख थियो। यसमा केसीको समेत हस्ताक्षर थियो। भेरो नामक अनलाइन भोटिङमार्फत भएको एनआरएनए निर्वाचनमा सिस्टम ह्याक गरेर मत परिणाम तलमाथि बनाइएको असन्तुष्ट पक्षको दाबी छ।