शनिबार, वैशाख २६, २०८३

धौलागिरि अस्पतालमा मालतीले जन्माइन् हालसम्मकै बढी तौल भएको बच्चा

बागलुङ जैमिनी नगरपालिका–३ की ३२ वर्षीया मालती छन्त्याल तामाङले ४ केजी ७५० ग्रामको बच्चालाई जन्म दिएकी हुन्।
 |  शुक्रबार, कात्तिक १०, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १०, २०८०

बलेवा–बागलुङको धौलागिरि अस्पतालमा पहिलोपल्ट सबैभन्दा बढी तौल भएको बच्चाको जन्म भएको छ।

National life

दसैंका बेला अस्पतालमा स्त्रीरोग विशेषज्ञ नहुँदा पनि विद्यमान स्वास्थ्यकर्मीको सक्रियतामा बागलुङ जैमिनी नगरपालिका–३ की ३२ वर्षीया मालती छन्त्याल तामाङले अहिलेसम्मको बढी तौल भएको बच्चालाई जन्म दिएकी हुन्।

उक्त बच्चाको तौल ४ केजी ७५० ग्राम रहेको अस्पतालले जनाएको छ। अस्पतालको प्रसूति वार्डमा बिहीबार सामान्य रूपमा उनले छोरा जन्माएको अस्पतालका नर्सिङ इञ्चार्ज देवी भट्टराईले बताइन्। यो छन्त्यालको चौथो सन्तान हो।

पेटमा रहेको बच्चा ठूलो देखिएकाले  अस्पतालबाट पोखरा जान सल्लाह दिइएको थियो तर विगतका सन्तान पनि सामान्यरूपमै जन्मिएकाले आफूलाई यसपटक पनि सामान्यरूपमै बच्चा जन्मिन्छ भन्ने लागेर यहीं भर्ना भएको सुत्केरी छन्त्याल तामाङले बताइन्।

दसैंका बेलामा पोखरा जान पनि गाह्रो थियो। नजिकको अस्पतालमै बच्चा जन्माउने विचार गरेर यहाँ सम्बन्धित चिकित्सक नहुँदा पनि अस्पतालमा भएको जनशक्तिको सहयोगमा राम्रौसँग बच्चा जन्मिएको उनका पति नेत्रबहादुर छन्त्यालले बताए।

उक्त अस्पतालमा प्रसूतिका लागि एक दिनमा झन्डै एक दर्जन महिला आउने गर्छन्। यसअघि अस्पतालमा बढीमा ४ किलो ५०० ग्रामसम्मको बच्चाको जन्म भएकामा अहिले चार किलो ७५० ग्रामको बच्चाको जन्म भएको हो।

यसअघि ठूलो तौलको बच्चा जन्माउन नसक्दा शल्यक्रिया गर्नुपरेको थियो। अहिले ती बच्चा र आमा दुवैको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ।–रासस

प्रकाशित: Oct 27, 2023| 11:46 शुक्रबार, कात्तिक १०, २०८०
प्रतिक्रिया दिनुहोस्