शुक्रबार, जेठ २२, २०८३

ऐतिहासिक बिमकोट दरबार गाउँपालिकालाई हस्तान्तरण

 |  बिहीबार, कात्तिक ९, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ९, २०८०

अछाम- यहाँको मेल्लेख गाउँपालिकामा अवस्थित ऐतिहासिक बिमकोट दरबार गाउँपालिकालाई हस्तान्तरण गरिएको छ। 

National life

बुधबार एक औपचारिक कार्यक्रमका बीच तत्कालीन बिमकोटी राजा जनकबहादुर शाहले दरबारसहित दरबारको नाममा रहेको ६ दशमलव ५ रोपनी जग्गा गाउँपालिका अध्यक्ष ज्वालासिंह साउदलाई हस्तान्तरण गरेका हुन्। 

दरबार मेल्लेख गाउँपालिका वडा नं ५ बिन्धेबासीनीमा अवस्थित छ। दरबारको संरक्षण तथा प्रवद्र्धन अबदेखि गाउँपालिकाले गर्ने भएको छ। बिमकोट दरबार दुईतिरबाट बिमकोटीगाड र चोटे खोलाले घेरिएको छ। जङ्गलको बीचमा अवस्थित दरबार नजिक कुनै गाउँबस्ती छैन। दरबारको सिरानीमा षोड्षादेवीको मन्दिर रहेको छ। षोड्षादेवीलाई बिमकोटे राजा तथा उहाँका सन्तानहरूले कुलदेवीका रूपमा पुज्दै आएका छन्।

किंवदन्तीअनुसार बिमा राउतको सल्लाहबमोजिम दरबार बनाएका कारण सो ठाउँको नाम बिमकोट रहन गएको हो। उक्त दरबारको खाका भने महिमा नामका नवाँठानी ओडले कोरेका थिए। दरबार निर्माणका लागि एकदिनको पैदल बाटोको दूरीमा रहेको दर्बागाउँबाट ढुङ्गा ओसारिएको थियो। 

१६ औँ शताब्दीमा निर्मित उक्त दरबार विसं १९९७ मा अस्तित्वमा आएको थियो। बिमकोट दरबार परिसरमा फारसी भाषाको शिलालेख थियो। फारसी भाषाको शिलालेख भेटिनुले थप कौतुलहता उत्पन्न गर्छ। फारसी भाषाको उक्त शिलालेख हाल षोडषादेवी मन्दिर परिसरमा राखिएको छ।

Shivam cement

जनकबहादुर शाहका अनुसार १९९० सालको भूकम्पमा पुरानो बिमकोट दरबार भत्किएको थियो। त्यसपछि उहाँका हजुरबुवा नगेन्द्रबहादुर शाहले प्राचीन दरबारभन्दा नयाँ दरबार निर्माण गरेका थिए। नयाँ दरबार निर्माण गर्न १३ वर्ष लागेको थियो। जुन दरबारले बिमकोटे राजाहरूको विरासतका रूपमा अहिले पनि खडा छ।

सशस्त्र द्वन्द्व सुरु भएपछि भने बिमकोटे राजाका सन्तानहरूले उक्त दरबार छोडेका थिए। द्वन्द्वका कारण गाउँबस्तीदेखि टाढाको दरबार कुर्ने मानिस पनि भेटिएनन्। द्वन्द्वकै समयमा दरबारमा रहेका ऐतिहासिक कागजात, भाँडाकुँडा, ताम्रपत्र जलाएका थिए। मानिस बस्न छोडेका कारण बिमकोट दरबार हाल जीर्ण अवस्थामा छ। -रासस

प्रकाशित: Oct 26, 2023| 20:02 बिहीबार, कात्तिक ९, २०८०
प्रतिक्रिया दिनुहोस्