काठमाडौं– ढोग नगरेको रिसमा कुटपिट गर्दा सल्यानको बागचौर नगरपालिका–७ कोटबारा पुरानछापका २० वर्षीय घनश्याम ओलीले ज्यान गुमाएका छन्। छिमेकी गाउँ स्यालाका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीले ढोग (दर्शन) नगरेको भन्दै ४ कात्तिकमा घनश्यामलाई कुटपिट गर्दा मृत्यु भएको हो।
सोही दिन गाउँको भलिबल खेल्ने क्रममा स्याला गाउँबाट आएका केशर र सन्तोषले घनश्यामलाई हामीहरू तेरो दाइ पर्छौं, ढोग गर भने पनि उनले ढोगेका थिएनन।त्यसपछि उनीहरूले घनश्यामलाई कुटपिट गरेका थिए। कुटपिटपछि घनश्यामको उपचारका क्रममा बुधबार भारतको लखनउमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए।
परिवारले घनश्यामको स्वास्थ्यावस्था जटिल बन्दै गएपछि नवमीका दिन बागचौरस्थित जनप्रिय मेडिकलमा उपचारार्थ लगेका थिए। डाक्टरले शरीरभित्र रगत जमेको र यहाँ उपचार सम्भव नहुने बताएपछि घनश्यामलाई नेपालगञ्ज हुँदै भारतमा लगिएको थियो।
लखनउ उपचारमा लगिए पनि घनश्यामको मृत्यु भएको हो। कुटपिट गर्नेमध्ये सन्तोष दाङबाट पक्राउ परेका र केशर फरार रहेको प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिए।