प्यालेस्टिनी विद्रोही समूह हमास र इजरायलबीच युद्ध सुरु भएको १८ दिन पुगेको छ। त्यहाँ ७ अक्टोबरदेखि संघर्ष जारी छ।
गाजा क्षेत्रमा स्थिति निराशाजनक छ। स्थिति यति निराशाजनक छ कि खान यूनिसमा शरण लिएको एक परिवारले आफ्ना बच्चाको हातमा एक ब्रासलेट लगाइदिएको छ ताकि ती मारिए भने चिन्न सकियोस्।
बीबीसीका मिडल इस्ट संवाददाताका अनुसार अलीद डाबाले आफ्नो बच्चालाई बैंगनी र कालो रंगको ब्रासलेट लगाइदिएकी छन्। केहीगरी इजरायली हमलामा परेर बच्चाको ज्यान गएको खण्डमा चिन्न सजिलो होस् भनेर त्यसो गरेको उनको भनाइ छ। पछिल्लो साता सोसल मिडियामा एउटा भिडियो आएको थियो जसमा बाबुआमा बच्चाको नाम उनीहरुको हातमा लेखिरहेका थिए।
साथै अर्को एउटा मुटु नै ढक्क फुल्ने तस्बिर सार्वजनिक भएको थियो जसमा अस्पतालको शव गृहमा राखिएको बच्चाको शवको ट्राउजर माथि सारेर उनको नाम लेखिएको थियो।
सात अक्टोबरदेखि इजरायलले गाजामाथि लगातार हवाई हमला गरिरहेको छ। हमासका अनुसार हमलामा परेर अहिलेसम्म ६५०० को ज्यान गइसकेको छ जसमा २७ सयभन्दा बढी बालबालिका छन्। पछिल्लो २४ घण्टामा नै ७५६ जना मारिएका छन् जसमा ३४४ बालबालिका छन्। तटीय एन्क्लेभमा १७ हजार ४३९ प्यालेस्टाइनी घाइते भएका छन्।
हमासले सात अक्टोबरमा इजरायलमाथि गरेको हमलामा १४ सयको ज्यान गएको थियो। यसमध्ये १० जना नेपाली पनि छन्।
इजरायल र हमासबीच संघर्ष सुरु भएसँगै अन्य कैयौं मोर्चाबन्दीको आशंका गरिएको छ। मंगलबारमात्रै सिरियामा इजरायलको हवाई हमलामा परी आठ सैनिक मारिएका छन्।
लेबनानसँग जोडिएको सीमामा इजरायल र हिजबुल्लाबीच अहिले पनि गोलाबारी चलिरहेको छ। टर्कीले स्पष्ट रुपमा हमासको पक्ष लिएको छ। कतारले गाजामा बमबारी रोक्न इजरायलसँग अपिल गरेको छ।