बिहीबार, वैशाख १०, २०८३

थिमिमा कुभिण्डेजात्रा मनाइयो

 |  बुधबार, कात्तिक ८, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ८, २०८०

भक्तपुर- मध्यपुर थिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिण्डेजात्रा आज मनाइएको छ। नेवार भाषामा खाँः भनेर चिनिने सो जात्रा घटस्थापनाको दिन थिमिको लायकूस्थित तलेजू मन्दिरमा जमरा राखेर सुरुभएको थियो।

National life

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दशैँघरमा भित्र्याएपछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ। 

नवमीका दिन कोतमा काटिएको राँगोको टाउको र दशमीको दिनदेखि पूजा गरेको कुभिण्डोलाई बाजागाजाका साथ विगुल फुक्दै लायकू दरबारबाट दिगुभैरव परिक्रमा गरी बालकुमारी ल्याइएको थियो। आज एकादशीका दिन तीनजना पमा (थकाली), बाजा बजाउने कुस्ले, कपाली, मुखुण्डो लगाएर तरबार बोक्ने र माला बोक्ने कुटु, विगुल फुक्ने, राजदण्ड समाउने नाइके र राजोपाध्यायसहितको संलग्नतामा जात्रा निकाल्ने गरिन्छ।  

बाजागाजासहित लायकूबाट ल्याइएको कुभिण्डोलाई बालकुमारीअगाडि कर्माचार्यले पूजा गरी थकाली (पमा) ले काटेका थिए। कुभिण्डोको टुक्रा टिपेर लान सक्नेको घरमा सुख शान्ति हुने र ती टुक्राले औषधिको समेत काम गर्ने जनविश्वास रहि आएको छ।

प्रकाशित: Oct 25, 2023| 17:28 बुधबार, कात्तिक ८, २०८०
प्रतिक्रिया दिनुहोस्