मनाङ एयरका पाइलट क्याप्टेन प्रकाश सेढाईंको निधन भएको छ। एक साताअघि हेलिकोप्टर दुर्घटनामा घाइते भएका सेढाईंको उपचारका क्रममा निधन भएको हो।
उनले चलाएको हेलिकोप्टर गएको असोज २७ गते शनिबार सोलुखुम्बुमा दुर्घटना भएको थियो। दुर्घटनामा घाइते सेढाईंलाई तत्काल उपचारका लागि काठमाडौंको ह्याप्स हस्पताल ल्याइएकोमा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि मुम्बई लगिएको थियो।
उनको भारतको नेसनल बर्न सेन्टर मुम्बईमा उपचारका क्रममा हिजो निधन भएको हो। दुर्घटनामा परी उनको मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको थियो। हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन उडेको हेलिकोप्टर दुर्घटना भएको थियो।