शनिबार, असार २१, २०८२

जनावरजस्तो जिन्दगीबाट कसरी मुक्ति पाइन् चन्द्रकलाले ?

 |  मंगलबार, कात्तिक ७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ७, २०८०

vianetvianet

काठमाडौं- नयाँबस्ती, बाराकी चन्द्रकला तिमल्सिनाकोे घर कुनै गाईगोठभन्दा कम छैन। उमेरले १५ टेक्दै गरेकी उनलाई जन्मदै बौद्धिक अपाङ्गता थियो। साठीको नजिक पुगेका बुबा मुक्तिनारायण व्यवहारको दलदलमा यसरि फसेका छन् कि लाग्छ परिस्थिति अब उनको नियन्त्रण बाहिर छ। 

चन्द्रकलाकी आमा मुक्तिनारायणकी चौथो श्रीमती हुन्। उनी अघिका तीन श्रीमतीले छाडेपछि चन्द्रकलाको आमासँग उनको विवाह भयो। साथमा माइली श्रीमतीबाट जन्मेको आकाश छन्। पैसा कमाउन भारत लागेका उनी फर्कदा मनोरोगी भएर फर्किएका थिए। उनी दिनभर घर बस्दैनन्। दिनभर गाउँ डुलिरहन्छन् र भोक लागेपछि घर आउँछन्। घर बाहिर फलैंचामा नै उनको विस्तारा छ। चरालाई आरा राखिदिए झैं गरी उनलाई डोरीमा थाल झुण्डाएर खाना राख्ने गरेको रहेछ। आकाश कुनबेला आएर खान्छन् र जान्छन् कसैलाई थाहा हुँदैन।

चन्द्रकला आफूलाई दिशापिसाव लागेको समेत थाहा पाउँदिनन्। उनको स्याहारसुसार र घरधन्दा मनोरोगी आमको जिम्मेवारीमा छ। साथमा एउटा गाई, केही बाख्रा र कुखुरा पालेका छन्, ६० वर्षीय मुक्तिनारायण सकिनसकी घाँस काट्न जान्छन्, दाउरा खोज्छन्, गाईबस्तुको कुडोपानी गर्छन्। 

मानव सेवा आश्रमका उद्धार टोली चन्द्रकलाको घर पुग्दा सबै गाउँले जम्मा भएर उनको उद्धार गर्न अनुनय विनय गर्न थाले। उनको उद्धारले परिवारमा थप सहजता मिल्ने र चन्द्रकलाको आगामी जीवन थप सहर बनाउन सकिने निचोडसहित यात्रीले चन्द्रकलाको उद्धार गरे। उनीसहित हिजो उद्धार गरिएकाहरुलाई मानव सेवा आश्रम वीरगंज शाखामा राखिएको छ। 

यतिबेला देश दशैंमय भएको छ। मीठो खाने, राम्रो लगाउने, परिवारजन भेला हुने र सद्भाव बाढ्ने, अग्रजको अशिर्वाद ग्रहण गर्ने जस्ता क्रियाकलापहरुमा सिंगो नेपाली समाज रमाइरहदा मानव सेवा आश्रमले भने यस पटकको दशैं फरक तरिकाले मनाइरहेको छ। ‘यस वर्षको चाडपर्वमा कसैले बस्नु पर्दैन सडकमा’ भन्ने मूल नाराका साथ मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनले गत असोज २७ गतेदेखि आगामी मङ्सिर ४ गतेसम्म विशेष अभियान सञ्चालन गरेको छ। बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहिन, मानसिक तथा शारीरिक रुपमा कमजोर सडक आश्रित मानवहरुको उद्धार, पारिवारिक पुनर्मिलनदेखि उनीहरुसँगै दशैं, तिहार, छठजस्ता पर्वहरु मनाउने गरी सो अभियान सञ्चालन गरिएको हो। 

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पूर्व–पश्चिम राजमार्गसँग जोडिएका ४६ जिल्ला तथा बाग्मती र गण्डकी प्रदेशका केही जिल्लालाई लक्षित गरी अभियान सञ्चालन गरिएको मानव सेवा आश्रम केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए। विगत वर्षहरुमा पुस/माघको जाडो याममा सञ्चालन गरिने गरेको यस किसिमको अभियान यसपटक नेपालीको मुख्य चाडहरुलाई लक्षित गरी सञ्चालन गरिएको उनले बताए। उनका अनुसार यस अभियानमा करिब तीन सय जनाको उद्धार गरिनेछ। 

गत असोज २६ गते प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै एक कार्यक्रमबीच यात्रीहरुलाई विदाई गर्दै यो अभियानले आफूलाई हर्षित तुल्याएको र चाडपर्वका बेलामा अब असहायलाई सडकबाट उद्धार गरी आश्रय दिनु महत्वपूर्ण विषय भएको बताएका थिए। राजनीतिक दबाब र तनावपूर्ण चुनौती मात्रै नभई समाजसेवा झन बढी महत्वपूर्ण रहेको अनुभूति गर्ने अवसर यो कार्यक्रमले आफूलाई दिएको उनको भनाइ थियो। 

अठ्तीस दिनसम्म सञ्चालन हुने अभियानमा आश्रमका ३८ जना स्वयंसेवकको सहभागिता रहेको छ। यात्रीहरुले असोज २७ गते पूर्वीनाका मेची पुलमा पुगेर दीप प्रज्ज्वलन गरी उद्धार कार्यको शुभारम्भ गरेका थिए। कोशी प्रदेशमा चार दिन बिताएर मधेस प्रदेश केन्द्रीत भएका उद्धार टोलीले हिजोसम्म ८३ जना सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार गरिसकेको छ। उद्धार गरिएकाहरुमध्ये अधिकांश मनोरोगी छन्।

यसपटक यस अभियानलाई अझ प्रभावकारी बनाउन वरिष्ठ समाजसेवी एवं आनी छोइङ डोल्मा फाउण्डेशनकी अध्यक्ष आनी छोइङ डोल्मा पनि सहभागी भएकी छन्। यात्राको सम्पूर्ण खर्च सोही फाउण्डेसनले बेहोरीरहेको छ। संसारलाई महंगोमा गीत सुनाएर आफूले प्राप्त गरेको अधिकांश पारिश्रमिक समाज सेवामा लगाउँदै आइरहनुभएकी आनी छोइङ डोल्मा यतिखेर सहयोगापेक्षीहरुको उद्धार, नुवाइधुवाई र सरसफाइमा रमाइरहनुभएको छ। 

मानव सेवाभन्दा अर्को महान धर्म केही नभएकाले आफू पनि यस अभियानमा जोडिएको समाजसेवी आनी छोइङले बताइन्। उनी भन्छिन्, ‘दिनदुःखी र असहायको सेवा गर्दा मनमा शान्ति मिल्छ, पुण्य संग्रह बढ्छ। मानव सेवा आश्रमले गरिरहेको सत्कर्मको पुण्य मलाई पनि मिलोस् भनेर अभियानलाई साथ दिएकी हुँ।’’  मानिसका गलत सोच, व्यवहारलाई सुधार गर्नु पनि समाजसेवा नै हो। सकारात्मक सन्देश दिन र राम्रो कामको देखासिकी गराउन यस्ता अभियानहरु सार्थक रहने उनको भनाइ छ।

मानव सेवा आश्रमका देशका सातै प्रदेशका १९ जिल्लामा २४ वटा सेवा केन्द्रहरु रहेका छन्। ती केन्द्रहरुबाट हालसम्म आठ हजारभन्दा बढीको उद्धार गरिएको छ र हाल १६ सय जना संरक्षणमा रहेका छन्। तीमध्ये करिब सय बालबालिका छन् भने एक हजार मानसिक समस्या भएका व्यक्ति छन्। यसअघि पनि आश्रमले मेची महाकाली अभियान चलाइसकेको छ।

प्रकाशित: Oct 24, 2023| 09:22 मंगलबार, कात्तिक ७, २०८०
प्रतिक्रिया दिनुहोस्