शुक्रबार, जेठ २२, २०८३

दसैंमा पनि किसानलाई धान भित्र्याउन चटारो

 |  सोमबार, कात्तिक ६, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ६, २०८०

बागलुङका किसानलाई मध्य दसैँमा धान भित्र्याउन चटारो परेको छ। उनीहरुलाई खेतभरि पहेँलपुर झुलेको धान वर्षाले भित्र्याउन दिँदैन कि भन्ने पिर समेत परेको छ।

National life

आकाशमा बादल मडारिँदा किसान चिन्तत हुन्छन्। यतिबेला पश्चिम बागलुङका किसानलाई दसैँ मनाउनभन्दा बढी धान भित्र्याउन भ्याइनभ्याइ छ। दसैँ र धान भित्र्याउने समय एकैपटक पर्दा किसानलाई चाडबाडकोभन्दा खेती स्याहार्ने चटारो बढी छ।

गत असारमा लगाइएको धान असोज अन्तिम साता भित्र्याउने समय भए पनि निरन्तर वर्षा हुँदा खेतमै रहेको थियो। निसीखोला गाउँपालिका–४ का केशर पौडेलले अब वर्ष भए धानबालीमा ठूलो क्षति हुने जनाउँदै अहिले भित्र्याउन भ्याइनभ्याइ भएको बताए।
गत असोज २९ गतेसम्म ठूलो वर्षा भएको हुँदा धान भित्र्याउन नसकिएको भन्दै केही दिनदेखि पानी नपरेको हुँदा खेताला लगाएर धान काट्ने र भित्र्याउनतर्फ लागेको बताए। आफूले मार्सी जातको धान लगाएको हुँदा छिटो पाकेको पौडेलको भनाइ छ।

उनले भने ‘यस वर्ष अलि ढिला आयो दसैँ, पोहोरपरार सालमा त यतिबेला तिहार आउँथ्यो, दसैँ सकेर धान भित्र्याउथ्यौँ, पानीले पनि त्यत्ति धेरै दुःख दिएको थिएन, अहिले त धान काट्ने बेला ठूलो वर्षा भयो, केही दिन भयो पानी परेको छैन त्यही भएर धेरै किसान धान काट्ने र भित्र्याउनमा व्यस्त छन्, अब बारीमा गहुँ पनि छर्ने समय भयो, एकैपटक धेरै काम गर्नुपर्छ, यो समय कामकै चटारो हुने भएको हुँदा दसैँ पोहोरपरार सालको जस्तो फुर्सदिलो नहुने भयो।’

अर्का किसान निमबहादुर क्षेत्रीले असोज दोस्रो साता धान काट्ने तयारी गरेको तर वर्षका कारण रोकिएको बताए। पानी बिदो (वर्षा रोकिनु) भएका बेला अर्मपर्म गरेर धान काट्न थालेको उनले बताए। धान काटेको दुई दिनमा छाट्ने र भित्र्याउने भएको हुँदा धेरै किसान यति बेला खेतमा व्यस्त भएको क्षेत्रीको भनाइ छ। यस वर्ष समयमै वर्ष भएको हुँदा धान पनि राम्रो उत्पादन भएको भन्दै समयमै नभित्र्याए असिनाले नोक्सान गरिदिन सक्ने उनी बताउँछन्।

Shivam cement

निसीखोला क्षेत्रमा अन्य ठाउँको तुलनामा छिटो रोपाइँ हुनेहुँदा धान पनि छिटो नै पाक्ने गर्छ। यहाँका किसानले मार्सी, जडन, जेठो बुढोलगायतका जातको धान लगाउने गर्दछन्। जडन जातको धान अलि ढिला पाक्ने किसानको भनाइ छ। बागलुङमा हरेक वर्ष धान उत्पादन गर्ने क्षेत्रफल बढ्दै गएको छ।

कृषि ज्ञानकेन्द्र बागलुङका अनुसार गत वर्ष पाँच हजार आठ सय ८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो। अघिल्लो वर्षको तुलनामा यस वर्ष बढेर छ हजार हेक्टरमा रोपाइँ भएको छ।

जिल्लामा ४६ हजार एक सय ४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकामा ३० हजार पाँच सय २३ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ। त्यसमध्ये छ हजार एक सय ४८ हेक्टर क्षेत्रफल जमिनमा मात्रै सिँचाइको सहज पहुँच पुगेको छ। खेतीयोग्य जमिनको २० दशमलव १५ प्रतिशत जमिनमा मात्रै सिँचाइको सुविधा छ। त्यसमध्ये बाह्रै महिना सिञ्चित क्षेत्र दुई हजार सात सय ७५ हेक्टर रहेको छ।

प्रकाशित: Oct 23, 2023| 21:32 सोमबार, कात्तिक ६, २०८०
प्रतिक्रिया दिनुहोस्