शुक्रबार, जेठ २२, २०८३

मानुङकोटको मजा सूर्योदय र कुहिरोमा

 |  मंगलबार, कात्तिक ७, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ७, २०८०

दमौली- तनहुँको मानुङकोटमा जाडो बढेसँगै पर्यटक पनि बढेका छन्। बिहानको घामको किरणसँगै कुहिरोले सर्लक्क ढाकेको दमौली बजार हेर्नका लागि पर्यटक बढेका हुन्।

National life

दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ। परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ। 

त्यही कुहिरोले ढाकेको दृश्य र सूर्योदय अवलोकन गर्न तनहुँको व्यास नगरपालिका-५ मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ। जाडो मौसम सुरु भएसँगै यहाँ पर्यटकको आगमन बाक्लिएको हो। गर्मी मौसममा प्रायः सुनसान रहने मानुङकोटमा चिसो मौसममा पर्यटकको बाक्लो उपस्थिति रहने गरेको छ। 

अहिले दसैँ बिदाका कारण पनि बिहानैदेखि पर्यटकको आगमन सुरु भएको स्थानीय अनिल अधिकारीले बताए। उनले भने, ‘अब मानुङकोटमा पर्यटकको चहलपहल बढ्ने बेला भयो, बडादसैँको नवौ दिन आज बिहानै एक हजारभन्दा बढी पर्यटकको आगमन भयो।’

अधिकारीका अनुसार राति मानुङकोटमै बास बसेर बिहानको दृश्य हेर्नेहरु पनि बढेका छन्। त्यसका अलवा बिहानै मानुङकोट पुग्ने पनि उत्तिकै छन्। 

Shivam cement

दसैँको समयमा काठमाडौँबाट दमौली आउनुभएकी पार्वती पौडेलले मानुङकोटको दृश्य लोभलाग्दो भएको बताए। उनले भने, ‘यहाँबाट देखिने दृश्यले मनै लोभ्यायो, एकपटक आएपछि फेरि आउन मन लाग्ने रहेछ।’

जाडो महिनामा मानुङकोटमा पर्यटककको राम्रो चहलपहल हुने वडाध्यक्ष विष्णुकुमार श्रेष्ठको भनाइ छ। उनले भने, ‘मानुङकोटको विशेषता भनेको जाडोयामको हो, जाडोयाममा कुहिरोले ढपक्क ढोकेको दृश्य र सूर्योदयको मनोरम दृश्य हेर्न विभिन्न ठाउँबाट पर्यटक आउँछन्।’ मानुङकोटमा पर्यटकको चहलपहल बढेपछि होटल खुल्ने क्रम बढेको छ।

उनले भने, ‘मानुङकोटको पर्यटन प्रवर्द्धनका लागि नगरपालिकाले पनि प्रयास गर्दै आइरहेको छ। प्रत्येक वर्ष मानुङकोटबाट पुलिमराङसम्म अल्ट्रा म्याराथन प्रतियोगिता हुँदै आएको छ।’

मानुङकोटबाट धौलागिरी, माछापुच्छ्रे अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ। मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेकाहरू पनि पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन्। खानेपानीको अभावमा यहाँका स्थानीयवासीले गाउँ छाडेका थिए। बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ।

प्रकाशित: Oct 24, 2023| 05:02 मंगलबार, कात्तिक ७, २०८०
प्रतिक्रिया दिनुहोस्