काठमाडौं- हनुमानढोका दरबारको दसैं घरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याइएको छ। नेपालीहरुको महान पर्व वडा दसैंको सातौँ दिन गोरखा दरवारबाट पठाइएको फूलपाती शास्त्रीय विधिअनुसार हनुमान ढोकास्थित दसैं घरमा भित्र्याइएको हो।
आज बिहान ८ बजेको शुभ साइतमा गोरखा दरवारबाट निकालिएको फूलपाती अपरान्ह साढे ४ बजे बाजागाजासहित दसैं घरमा भित्र्याइएको छ। अशोक, बेल, दारिम, सामा, धान, उखु, केरा, जयन्तीका र हलेदो फूलपातीका रुपमा दसैं घरमा भित्र्याइएको हो।
नवपत्रिकाको नामले चिनिने फूलपाती नौ देवीको प्रतिकका रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार देवीको आराधना गर्ने र शक्ति ग्रहण गर्ने परम्परा रहेको छ। राज्य एकीकरणको अभियानमा पृथ्वीनारायण शाहले काठमाडौंमाथि विजय पाएपछि काठमाडौंलाई देशको राजधानी बनाएको र त्यसपछि गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमान ढोका ल्याउने प्रचलन सुरु भएको बताइन्छ।