शुक्रबार, जेठ २२, २०८३

गोरु पाल्ने किसानलाई पोषण अनुदान

 |  शनिबार, कात्तिक ४, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ४, २०८०

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले हल गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप पोषण अनुदान वितरण गरेको छ। गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को ‘हलगोरु पोषण अनुदान कार्यक्रम’अन्तर्गत हल गोरु पाल्ने किसानलाई अनुदान वितरण गरेको हो।

National life

पालिकाले सातवटै वडाका किसानलाई एक हल गोरुबापत जनही चार हजार रुपैयाँका दरले रकम वितरण गरेको पशु सेवा शाखा प्रमुख डा विनय शाहले जानकारी दिए। उनका अनुसार सबै वडाका गरी तीन सय ६७ कृषकलाई १४ लाख ६८ हजार रकम वितरण गरिएको छ।

वडा नं १ का एक सय चारलाई रू चार लाख १६ हजार, वडा नं २ का २९ लाई एक लाख १६ हजार, ३ का नौ जनालाई ३६ हजार, ४ का ४२ लाई एक लाख ६८ हजार, ५ का ५३ जनालाई दुई लाख १२ हजार, ६ नं वडाका ७१ लाई दुई लाख ८४ हजार र ७ नंका ५९ लाई दुई लाख ३६ हजार वितरण गरिएको शाहले जानकारी दिए। 

उक्त कार्यक्रम सञ्चालन गरिएपछि यसतर्फ किसानको आकर्षण बढेको शाहको भनाइ थियो। गत आवमा गाउँपालिकाले यही कार्यक्रमबापत १० लाख वितरण गरेको थियो। त्यतिबेला हल गोरु पाल्ने किसानको सङ्ख्या दुई सय ५० थियो। उनका अनुसार यो आवमा एक सय १७ किसान बढेका छन्।

पछिल्लो समय गोरु पाल्ने प्रचलन हराउँदै जान थालेपछि पालिकाले हल गोरु पाल्ने किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउन थालेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए। गोरु पाल्ने क्रम घट्दा जग्गा बाँझो हुने क्रम बढेपछि किसानलाई प्रोत्साहनका लागि रकम वितरण गरिएको उनको भनाइ थियो।

Shivam cement

प्रकाशित: Oct 21, 2023| 22:32 शनिबार, कात्तिक ४, २०८०
प्रतिक्रिया दिनुहोस्