शनिबार, जेठ ३१, २०८२

दसैंमा खसीबोका बिक्री नहुँदा किसान निराश

 |  शनिबार, कात्तिक ४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ४, २०८०

vianetvianet

कञ्चनपुर- चाडबाडको मुखमा खसीबोका बिक्री नहुँदा किसान निराश बनेका छन्। डडेल्धुराको भित्री मधेस क्षेत्रबाट खसीबोका लिएर महेन्द्रनगर पुगेका किसान आफूले पालेका खसीबोका बिक्री नहुँदा चिन्तित बनेका हुन्।

परशुराम नगरपालिका–८ जोगबुढाका किसान खसीबोका बिक्री गर्न दुई दिन पैदल हिँडेर महेन्द्रनगर झरेका छन्। बाख्रापालन गरेर जीविकोर्पाजन गर्दै आएका उनीहरूलाई गतिलो व्यापार नहुँदा घरखर्च जोहो गर्न सकस परेको छ। 

‘केही वर्षयता खसीबोकाको व्यापार हुनसकेको छैन, विगतका दसैँमा सजिलै घरखर्च चलाउँथ्यौँ’, जोगबुढाका किसान जिते धामीले भने, ‘आम्दानीको स्रोत बाख्रापालन हो, बिक्री नहुँदा अब घरखर्च चलाउनै मुस्किल होलाजस्तो छ।’

चाडबाडमा खसीबोका बिक्री नहुनुका साथै बिक्री भइहाले पनि उचित मूल्य नपाउँदा किसान मारमा परेका छन्। भारतबाट आयात हुने खसीबोकाका कारण नेपाली उत्पादन बिक्री हुन नसकेको धामीको भनाइ छ। 

‘भारतबाट सहजै खसीबोका आउँछन्, नेपाली बजारमा तिनै खसीबोका बेचिन्छन्’, उनले भने, ‘बजारको उचित व्यवस्थापन नहुँदा खसीबोका बेच्न सकस छ, कोही किन्न आइहाले पनि मोलमोलाइ बढी गर्छन्, मोल नै पाउँदैनौँ।’

National life insurance

गत असोज ३० गते उनले १३ खसीबोका बिक्रीका लागि महेन्द्रनगर लगेका थिए। तीमध्ये तीन दिनसम्म दुईवटा खसीमात्रै बिक्री भएको धामीको भनाइ छ। 

बाख्रापालन गरेर जीवन धानेका डडेल्धुराको भित्री मधेसका किसान प्रत्येक वर्ष खसीबोका बेच्न तराई झर्ने गर्दछन्। गाउँबाट उधारोमा सङ्कलन गरेर ल्याएका खसीबोका बिक्री नहुँदा ऋण काढेर पैसा तिर्नुपर्ने अवस्था आएको देव धामीको भनाइ छ।

प्रकाशित: Oct 21, 2023| 18:32 शनिबार, कात्तिक ४, २०८०
प्रतिक्रिया दिनुहोस्