शुक्रबार, जेठ २२, २०८३

दसैंमा पोखराबाट बाहिरिने यात्रु घटे

 |  शनिबार, कात्तिक ४, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ४, २०८०

कास्की- विगतका वर्षहरूमा दसैँ मान्नका लागि पोखराबाट बाहिरिनेहरूको सङ्ख्या अधिक हुने गरे पनि यस वर्ष न्यून रहेको छ।

National life

गण्डकी प्रदेशको राजधानी सहर पोखरामा विभिन्न पेसा तथा व्यवसायमा रहेकाहरू परिवारका साथमा चाडपर्व मान्नका लागि घर जाँदा सार्वजनिक यातायातको समस्या हुने गरेकामा यस वर्ष सो समस्या छैन। गन्तव्यमा पुग्नका लागि यात्रुले पर्याप्त गाडी पाएका छन्।

पोखरामा प्रधान कार्यालय रहेर देशका सातवटै प्रदेशमा दिवा तथा रात्रिसेवामा यातायात सञ्चालन गर्दै आएको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीले यस वर्ष दसैँमा पोखरा छाड्नेहरू न्यून रहेको जनाएको छ।

कम्पनीले दसैँका लागि गत असोज २१ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाएकामा शुक्रबारसम्म ६ हजार जनाले मात्र टिकट लिएका छन्।

अघिल्ला वर्षहरूमा दसैँका समयमा ३० हजार हाराहारीमा अग्रिम टिकट बुकिङ हुने गरेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसीले बताए। उनका अनुसार विगतमा सार्वजनिक यातायातमा यात्रुको चाप बढी हुँदा थप बस सञ्चालन गर्नुपरे पनि यस वर्ष त्यस्तो छैन।

Shivam cement

अध्यक्ष केसीले भने, ‘यस वर्ष दसैँका लागि पोखराबाट बाहिर जाने यात्रुहरूको सङ्ख्या अत्यन्त कम छ। पहिला ३० हजारसम्म अग्रिम टिकट जान्थ्यो। अहिले नियमित तालिकाअनुसार नै गाडी पर्याप्त छन्, थप गाडीको व्यवस्था गर्नुपरेको छैन। अग्रिम बुकिङ पनि कम भयो।’

अध्यक्ष केसीका अनुसार कम्पनी मातहतमा एक हजार दुई सय ९० यात्रुबाहक बस सञ्चालनमा छन्। कम्पनीले दिवा तथा रात्रि सेवामा सुविधासम्पन्न ‘डिलक्स बस’बाट देशका सातै प्रदेशका विभिन्न सहरमा सेवा दिँदै आएको छ।

अर्थतन्त्रमा देखिएको मन्दीका कारण पनि दसैँमा पोखरा बाहिर जानेको सङ्ख्यामा कमी आएको बताइन्छ। हरेक क्षेत्रमा भएको मूल्यवृद्धि र व्यापार व्यवसायमा आएको गिरावटका कारण पनि आफू रहेकै ठाउँमा पर्व मनाउनेहरूको वृद्धि भएको छ।

धादिङको नीलकण्ठ नगरपालिका स्थायी घर भई हाल पोखरा–१४ मा बसेर निर्माण व्यवसायमा आबद्ध ज्ञानेन्द्रबहादुर थापा विगतमा दसैँ मान्न परिवारसहित गाउँघर जाने गरे पनि यस वर्ष पोखरामै बसेर मनाउने योजनामा रहेको बताए। सार्वजनिक यातायात तथा बढ्दो महँगीका कारण घर जान नसकेको उनको भनाइ छ।

पोखरामा यस वर्ष दसैँमा पनि बजारमा चहलपहल न्यून छ। विगतमा घटस्थापनादेखि बजारमा किनमेल गर्नेको भीड हुने गरे पनि यस वर्ष शुक्रबारदेखि मात्र बजारमा चहलपहल देखिएको व्यवसायी बताउँछन्।

प्रकाशित: Oct 21, 2023| 14:22 शनिबार, कात्तिक ४, २०८०
प्रतिक्रिया दिनुहोस्