संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यही कात्तिक १४ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। संघीय संसद् सचिवालयका अनुसार महासचिव गुटेरेसले संघीय संसद्को संयुक्त बैठकलाई अपराह्न ४ बजे सम्बोधन गर्नेछन्।
गुटेरेसको नेपाल भ्रमण कार्यक्रमलाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो। गुटेरेसले कात्तिक १२ गतेदेखि १५ गतेसम्म नेपालको औपचारिक भ्रमणका कार्यक्रम मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो। गुटेरेसको सम्बोधनका क्रममा संसद्मा संवैधानिक निकायका प्रमुख, नेपालस्थित विदेशी नियोगका प्रमुखलगायत विभिन्न विशिष्ट व्यक्तित्वलाई संसद् सचिवालयले आमन्त्रणका लागि पत्राचार गर्नेछ।
महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्रसंघको ७८ औं महासभा बैठकमा भाग लिने क्रममा नेपाल भ्रमणको निमन्त्रणा गरेका थिए।