शुक्रबार, भदौ २६, २०८३

इजरायलमा मारिएका चार नेपालीको शव आइतबार आइपुग्ने

 |  शनिबार, कात्तिक ४, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ४, २०८०

इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थीको शव आज नेपाल ल्याइँदै छ।

तेल अभिभस्थित नेपाली राजदूतावासले हमासको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीमध्ये कानुनी प्रक्रिया पूरा भएका चार शव नेपाल पठाउन लागेको जानकारी दिएको छ।

नेपाल ल्याउन लागेका चार शव नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिष्ट र आशिष चौधरीको रहेको दूतावासले जनाएको छ।

दूतावासले जारी गरेको विज्ञप्तिअनुसार शनिबार दिउँसो १ बजेर २५ मिनेटमा फ्लाई दुबईको उडानमार्फत शव नेपाल पठाइन लागेको हो। इजरायलबाट उडान नम्बर एफजेड १२१० मार्फत दुवईसम्म र त्यहाँबाट फ्लाई दुवईकै उडान नम्बर एफजेड ८३५१ मार्फत काठमाडौंसम्म शव पठाउन लागेको दूतावासले जनाएको छ।

शव कात्तिक ५ गते आइतबार बिहान काठमाडौं आइपुग्ने पनि विज्ञप्तिमा उल्लेख छ। अन्य शव पहिचानको काम क्रमशः भइरहेको पनि दूतावासले जनाएको छ।

उपलब्ध सम्पूर्ण संयन्त्रको प्रयोग गरी सम्पर्कविहीन रहेका विपीन जोशीको खोजी कार्यमा दूतावासले आफ्नो प्रयास केन्द्रित गरिरहेको जनाएको छ।
 

प्रकाशित: Oct 21, 2023| 06:12 शनिबार, कात्तिक ४, २०८०
प्रतिक्रिया दिनुहोस्