काठमाडौं– गोकर्णेश्वर नगरपालिका–६ स्थित स्मृति लामिछानेको शिवसिद्धि इन्टरप्राइजेजमा काम गर्ने सिन्धुलीका १९ वर्षीय अर्जुन तामाङको करेन्ट लागेर मृत्यु भएको छ। मोटरसाइकल सफा गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा मृत्यु भएको हो।
यस्तै, उदयपुरको चौदण्डीगढी नगरपालिका–३ सौरेली टोलमा विद्युत् पोलमा बल्ब लगाउने क्रममा करेन्ट लागेर सोही ठाउँका ४० वर्षीय पदम श्रेष्ठको मृत्यु भएको प्रहरी समाचार कक्षले जनाएको छ।
टोल विकास समितिद्वारा बल्ब लगाउने काम भइरहेको अवस्थामा पोलमा चढ्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको घोपा अस्पताल धरानमा उपचारका क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।