शुक्रबार, असार २०, २०८२
  • गृहपृष्ठ
  • समाज
  • दलित-गैरदलित प्रेम विवाह: पीडित बनेपछि युवतीले प्रहरी गुहारिन्

दलित-गैरदलित प्रेम विवाह: पीडित बनेपछि युवतीले प्रहरी गुहारिन्

 |  शुक्रबार, कात्तिक ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ३, २०८०

vianetvianet

काठमाडौं- सिरहाको गोलबजारमा गैरदलित युवकसँग प्रेम विवाह गर्ने एक दलित युवतीलाई रकम दिएर सम्बन्ध छुटाउन दबाब दिएको घटना सार्वजनिक भएको छ।

गोलबजार नगरपालिका–१ माइती भएकी २४ वर्षीया देविका सदायले मिर्चैया नगरपालिका–९ भगवानपुर गाउँका २५ वर्षीय विजय महतोसँग करिब दुई वर्षअघि प्रेम विवाह गरेकी थिइन्।

दलित युवतीले गैरदलित युवकसँग प्रेम विवाह गरेको दुई वर्षपछि केटा पक्षको परिवारले छुटाउन देविकालाई रकम दिएर दबाब दिएको हो। युवतीले नमानेपछि केटा पक्षको परिवारले युवकलाई लुकाएको पीडितको दाबी छ।

केटा पक्षको परिवारले करकापमा पारेर सम्बन्ध तोड्न आग्रह गरेपछि पीडित युवतीले प्रहरीकहाँ उजुरी गरेकी छन्। उजुरीपछि प्रहरीसहितको रोहवरमा भएको छलफलमा केटाका आफन्त र परिवारले सम्बन्ध तोडाउन रकम लिन पटक–पटक गरेको पीडित युवतीले गुनासो गरिन्।

‘जातीय रूपले नमिलेको भन्दै १० लाख लिएर केटालाई छाडिदिन दबाब आएको छ। दुई वर्षसम्म श्रीमतीको रूपमा राखेपछि अहिले रकमको प्रलोभन दिएर मलाई छुटिजान धम्की आइरहेको छ,’ पीडित युवतीले भनिन्। गत असोजमा दुईपटक मिर्चैयास्थित इलाका प्रहरी कार्यालयमा परिवार र उनका आफन्तसँग भएको छलफलमा भागे भनिएका आफ्नो श्रीमान्लाई खोजेर ल्याउने भनिए पनि आलटाल मात्र गरिएको उनको गुनासो छ।

National life insurance

भगवानपुरमा रहेका फुपाजूको घरमा आश्रय लिएर बस्दै आएका बेला ट्याक्टर चालकको काम गर्ने महतोले विवाह गर्छु भन्दै श्रीमती बनाएर गत वर्षको साउनमा बन्दीपुरमा करिब पाँच महिना डेरामा राखेको उनले बताइन्। त्यसपछि मंसिरमा धनगढीमाई नगरपालिका १२ सिमलटेकी आहाले गाउँमा ऐलानी जग्गामा झुपडी बनाएर आफूलाई राखी श्रीमान् महतो कमाउन खाडी मुलुक कतार गएको उनको दाबी छ।

यसअघि कतार गएका श्रीमानले आफूलाई खर्च पठाउँदै आए पनि गत असोज दोस्रो साता त्यहाँबाट फर्किएलगत्तै दोस्रो विवाह गर्छु भनेर धम्की दिँदै आएको पीडित युवतीले प्रहरीसमक्ष गुनासो गरिन्।

कतारबाट आएका श्रीमानले परिवारको कारणले आफूलाई श्रीमतीको रूपमा राख्न नसक्ने बताएलगत्तै मिर्चैया प्रहरीमा उजुरी दिएपछि परिवारले लुकाएको उनको आरोप छ।

पीडित सदायले १० असोजमा मिर्चैयास्थित इलाका प्रहरी कार्यालयमा श्रीमान् महतोलाई कारबाहीको माग गर्दै उजुरी दिएकी थिइन्। श्रीमान् पहिलोपल्ट कतार जानुअघि आफू गर्भवती रहेको थाहा पाएपछि झुक्याएर औषधी खुवाएर गर्भपतन गराएको उनले दाबी गरिन्।

पीडित युवती सदायले उजुरी दिएपछि परिवारलाई कार्यालयमै बोलाएर कुराकानी गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले बताए। तर, उक्त छलफलमा केटा भने उपस्थित भएनन्।

प्रकाशित: Oct 20, 2023| 15:51 शुक्रबार, कात्तिक ३, २०८०
प्रतिक्रिया दिनुहोस्