शुक्रबार, जेठ २२, २०८३

ताप्लेजुङमा श्रमदानको चलन ब्युँतिदै

 |  शुक्रबार, कात्तिक ३, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ३, २०८०

ताप्लेजुङ- ताप्लेजुङमा पछिल्लो समय जनश्रमदान गर्ने चलन विकास हुँदै गएको छ। श्रमदान गर्ने चलन हराउँदै गइरहेको समयमा हाल स्थानीय तहका जनप्रतिनिधि स्वयं अग्रसर हुन थालेपछि पुनः श्रमदान गर्ने संस्कार मौलाउँदै गएको हो।

National life

स्थानीय तहका पदाधिकारी हुँदै वडा-वडाका जनप्रतिनिधि श्रमदान गर्नमा अग्रसर हुन थालेसँगै गाउँगाउँमा भौतिक पूर्वाधारसहितका निर्माण कार्य श्रमदानमार्फत गर्न थालिएको छ। अहिले एक अर्को स्थानीयबीचमा प्रतिस्पर्धाझैँ श्रमदानमार्फत सडक, पुलपुलेसा, गोरेटो बाटो, खेलमैदान निर्माणदेखि सार्वजनिक सम्पत्ति तथा स्थलको सरसफाइलगायतका कार्य गरिँदै आएको छ।

जिल्लाको मैवाखोला गाउँपालिकाले लाखौँ रुपैयाँ खर्च हुनसक्ने काम पहिरो पीडितका लागि अस्याथी आवास घर निर्माणको कार्य श्रमदान गरेरै सम्पन्न गरेको छ। साँघुका पहिरो पीडित ६५ परिवारलाई सुरक्षित ठाउँमा बसोबासको व्यवस्था गर्न गाउँपालिकाले ६५ अस्थायी आवास घर श्रमदानबाटै निर्माण गरी सम्बन्धित पीडित परिवारलाई हस्तान्तरण पनि गरिसकेको छ। 

यस्तै बर्खा मौसममा बाढीपहिरोले क्षति गरेको मोटरेवल पक्की पुल, अस्थायी काठेपुल, सडकजस्ता क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनःनिर्माण कार्य पनि श्रमदानमार्फत नै गरी सञ्चालनमा ल्याएका छन्। जिल्लाका नौवटै स्थानीय तहले आ-आफ्नो क्षेत्रमा भएका सार्वजनिक महत्वका क्षतिग्रस्त संरचनाको मर्मत सम्भारका कार्य श्रमदानबाट नै गरिरहेका छन्। 

फक्ताङ्लुङ गाउँपालिकाले यातायात नै अवरुद्ध हुने गरी सिस्ने खोलामा बाढी आएर बगाएको काठेपुल श्रमदानबाटै पुनः निर्माण गरी सडक सञ्चालनमा ल्याएको छ। आठराई त्रिवेणी , मैवाखोला र मेरिङ्देन गाउँपालिका जोड्ने मैवाखोलास्थित पक्की पुलको दायाँ-बायाँ सडकसमेतमा बाढी पहिरोले क्षतिग्रस्त बनाएपछि श्रमदानमार्फत नै पुनःनिर्माण गरी सञ्चालनमा ल्याइएको छ।

Shivam cement

त्यस्तै बाढीले क्षतिग्रस्त बनाएको जिल्लाको पूर्वी सिदिङ्वा गाउँपालिका र पाँचथरको थर्पु जोड्ने इन्द्रावती खोलाको पुललाई श्रमदानमार्फत नै मर्मत गरी यातायात सञ्चालनमा ल्याइएको छ। त्यसैगरी बर्खा मौसम असार र साउन महिनामा बाढीपहिरोले जिल्लाका अधिकांश ग्रामीण सडकमा क्षति गरेको र उक्त क्षतिग्रस्त सडक श्रमदान गरेरै पुनर्निर्माण साथै मर्मत गरेर हाल सञ्चालनमा ल्याएका छन्। सम्बन्धित स्थानीय तहसँग भएको स्काभेटर, जेसिभीलगायतका उपकरण प्रयोग गरेर साथै जनप्रतिनिधि र स्थानीय सर्वसाधारणसमेको सहभागितामा श्रमदान गरिँदै आएको छ।    
 
यता नेपालीको मुख्य चाड दसैँ-तिहार नजिकिएसँगै आजभोलि श्रमदान गर्ने कार्य तीव्ररुपमा हुन थालेको छ। प्रत्येक वडा तथा टोल-टोलका नागरिक जुटेर बाटोघाटो, पुलपुलेसा, पाटीपौवालगायतका सार्वजनिक संरचना तथा स्थलको पुनःनिर्माण, मर्मत र सरसफाइका कार्यहरु श्रमदानमार्फत गरिँदै आएको मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डण्डु लामाले जानकारी दिए। उनका अनुसार जिल्लाका सबै स्थानीय तह र वडामा धमाधम श्रमदान गर्ने चलन ब्युँतिदै गएको छ।

प्रकाशित: Oct 20, 2023| 20:02 शुक्रबार, कात्तिक ३, २०८०
प्रतिक्रिया दिनुहोस्