काठमाडौं- रूपन्देही, मायादेवी गाउँपालिका-६ बेथरीस्थित सडकमा भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको लु.१ ख ८१९१ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री सोही गाउँपालिका-२ बस्ने ४४ वर्षीया गंगा सुवेदीको बिहीबार दिउँसो मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको सिटी अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दाङ, घोराही उपमहानगरपालिका-८ बनगाउँस्थित सडकमा नारायणपुरबाट बनगाउँतर्फ जाँदै गरेको रा.१ प ४५०३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-६ चोरगाउँ बस्ने २३
वर्षीय सुमन चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो।
यसैगरी दाङ, राप्ती गाउँपालिका-५ सिङ्गेस्थित सडकमा काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको बा.९ च ७१९८ नम्बरको स्कार्पियोले रा.६ प ५७३८ नम्बरको मोटरसाइकललाई बिहीबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २९ वर्षीय सन्तराम चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको स्वास्थ्य चौकी सिसहनियामा उपचारको क्रममा मृत्यु भएको हो। दुवै सवारी साधन र स्कार्पियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कास्की, पोखरा महानगरपालिका-२५ स्थित फुर्केटारी चोकमा ग.१६ प २९१ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०२-०१६ प ७०८४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा ग.१६ प २९१ नम्बरको मोटरसाइकल चालक गोरखा पालुङटार घर भएका ३० वर्षीय शुक्रराज श्रेष्ठको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल हुँदै मणिपाल अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका बागमती प्रदेश ०२-०१६ ७०८४ नम्बरको मोटरसाइकलमा सवार २ जनाको पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।
नवलपरासी पूर्व, कावासोती नगरपालिका-१० खरकट्टा जंगलस्थित सडकमा रा.३ प १८७५ नम्बरको स्कुटर आफै अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-२ बस्ने ३१ वर्षीय तिर्थराज देवकोटाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।